after_navbar

महाधिवेशन नगरी चुनावमा जानु असम्भवः महामन्त्री थापा


कार्तिक १, २०८२


काठमाडौ,१८ कार्तिक। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले महाधिवेशन नगरी चुनावमा जान नहुने बताएका छन्। उनले २२ भदौअघि र हालको राजनीतिक परिस्थिति फरक रहेको उल्लेख गर्दै नयाँ नेतृत्व चयन गरेर मात्र जनतामाझ जानुपर्ने आवश्यकता औंल्याए।

ad

केन्द्रीय समितिको बैठकमा धारणा राख्दै महामन्त्री थापाले महाधिवेशन कांग्रेसलाई जनतासँग जोडिने मञ्च भएको बताउँदै भने, –“हामी आन्दोलनको अग्रपंक्तिमा हुने पार्टी हौं, तर अहिले आन्दोलन हाम्रो विरुद्धमा छ।”

उनका अनुसार अहिले कांग्रेस एक किसिमले सडकमा फ्यालिएको अवस्थामा पुगेको छ। “कार्यकर्ता र शुभेच्छुकको प्रश्न हामीप्रति छ। यी प्रश्नहरूको जवाफ नदिई अघि बढ्यौं भने मतदाताले मतदानकै माध्यमबाट हाम्रो उत्तर दिनेछन्,” थापाले चेतावनीस्वरूप भने।

थापाले मतदाताले कांग्रेसका उम्मेदवारहरू भोट माग्न आउँछन् भनेर कुर्दैनन् भन्दै पार्टीप्रतिको असन्तुष्टि समाधान गर्नुपर्नेमा जोड दिए। “जनता हामीलाई भोट दिन आतुर भएर बसेका छैनन्, पार्टीका कमिटीहरूले पनि पर्खेर बसेका छैनन्,” उनले स्पष्ट पारे।

जेनजी आन्दोलनलाई पूर्ण रूपमा प्रायोजित थियो भनेर छुट नपाउने उल्लेख गर्दै उनले पार्टीले आफ्ना गल्तीहरूबाट सिक्नुपर्ने बताए।

त्यस क्रममा थापाले सभापति शेरबहादुर देउवाले पार्टीलाई सच्याउने र पुनर्गठन गर्ने जिम्मा दिएर उपचारका लागि सिंगापुर गएको जानकारी पनि दिए।

देश अहिले तीन विकल्पको मोडमा रहेको बताउँदै थापाले भने, “देश हिंसाको दिशामा जान सक्छ, अहिलेको जस्तै अवस्थामा रहन सक्छ, वा जनभावनालाई समेटेर नयाँ दिशा दिन सक्छ। यीमध्ये तेस्रो विकल्प कांग्रेसले अगुवाइ गर्नुपर्छ।”

थापाले पार्टीले विगतमा आफैंले नेतृत्व नगरेका आन्दोलनहरूलाई पनि संस्थागत गर्दै आएको स्मरण गराउँदै निष्कर्षमा भने, “यो अनिश्चितताको घडीमा कांग्रेसले ‘हामी छौं, हामीले सम्हाल्छौं’ भन्ने आत्मविश्वास देखाउनैपर्छ।”

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="