बर्दिया,१९ कार्तिक । बर्दियाको गेरुवा गाउँपालिका–२ राजीपुरमा धान काट्ने कम्पाइनको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। बुधबार दिउँसो साढे २ बजे भएको दुर्घटनामा करिब ७१ वर्षीय तारासिंह हमालको ज्यान गएको हो।
इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक भुपेन्द्रकुमार बुढाथोकीका अनुसार धान काटेर फर्किंदै गरेको कम्पाइनले पाताभार पक्की सडक खण्डमा साइकलमा सवार हमाललाई ठक्कर दिएको थियो।
घाइते हमाललाई तत्काल उपचारका लागि राजापुर नगर अस्पताल पुर्याइएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि कम्पाइन र चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी देवेन्द्रकुमार मल्लले जानकारी दिएका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस