after_navbar

मधेसका सांसदले दले आफ्नै मुखमा मोसो


कार्तिक २३, २०८२


जनकपुर,२२ कार्तिक । मधेस प्रदेशका माओवादी केन्द्रका सांसद रहबर अन्सारीले प्रदेशसभा बैठकमै आफ्नै मुखमा मोसो दलेका छन्। उनले कुनै पनि सरकारले मधेसी जनताको पक्षमा काम नगरेको भन्दै विरोधस्वरूप यस्तो कदम उठाएका हुन्।

ad

प्रदेशसभा बैठकमा रोस्ट्रममा भाषण गर्दै अन्सारीले मधेसका जनतालाई लगातार बेवास्ता गरिँदै आएको भन्दै आफ्नो सांसदको भूमिकाप्रति आत्मग्लानि प्रकट गरे। “कुनै पनि सरकारले मधेसी जनताको पक्षमा काम गरेन, हरेक सरकारले मधेसलाई लज्जित बनायो,” उनले भने, “त्यसैले मैले आज आफ्नो अनुहारमा कालो मोसो दल्दै सार्वजनिक अपराध स्वीकार गरेको छु।”

अन्सारीले प्रदेशमा रहेका सबै सरकार जनताको पक्षमा नउत्रिएको आरोप लगाए। उनले मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) को पक्षमा विश्वासको मत नदिने घोषणा पनि गरे।

मुख्यमन्त्री सोनारले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै गर्दा दलका सांसदहरूलाई बोल्ने अवसर दिइएको थियो। यही क्रममा माओवादी केन्द्रका सांसद अन्सारीले बोल्ने क्रममा आफ्नो अनुहारमा मोसो दलेका हुन्।

उनको यो कदमलाई प्रदेशसभा हलमै उपस्थित सांसदहरू र दर्शकहरूले अचम्मका साथ हेरिरहेका थिए। अन्सारीको कार्यलाई केही सांसदहरूले असन्तोषजनक भनेका छन् भने केहीले यो जनताको पीडा अभिव्यक्त गर्ने असामान्य तर प्रभावशाली विरोधको रूप भएको टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="