दाङ, २२ कार्तिक । दाङको गढवामा जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गढवा गाउँपालिका–४ अजगढवाका शिवकुमार यादवकी छोरी जमुना यादव रहेकी छन्, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए।
प्रहरीका अनुसार स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाले औषधि खुवाउने क्रममा औषधि घाँटीमा अड्किएपछि बालिकाको श्वासप्रश्वास रोकिएको थियो। सोही कारण दुई मिनेटमै उनको मृत्यु भएको बताइएको छ।
घटना गढवा गाउँपालिका–४ रामनगरमा भएको हो। मृतक बालिकाको शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको र पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस