काठमाडौ,२७ कार्तिक । अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित ग्रामीण क्षेत्र स्टोनली मा भएको भीषण सवारी दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन नेपालीको ज्यान गएको छ।
मृत्यु हुनेमा ४१ वर्षीय पुरुष, उनकी ३१ वर्षीया श्रीमती र तीन वर्षीय छोरा रहेका छन्। उनीहरू सवार कारलाई मालबाहक ट्रकले ठक्कर दिँदा घटनास्थलमै तिनै जनाको मृत्यु भएको भिक्टोरिया प्रहरीले पुष्टि गरेको छ।
दुर्घटनामा ती दम्पतीकी आमा (हजुरआमा) गम्भीर घाइते भएकी छन्। उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकहरूले उनको अवस्था हाल स्थिर र ज्यान संकटमुक्त रहेको बताएका छन्।
दुर्घटना सब–वेबाट मुख्य सडकमा निस्कँदा मालबाहक ट्रक र कार ठोक्किँदा भएको बताइएको छ। ट्रक चालक भने सामान्य रूपमा घाइते भएका छन्। परिवारका अन्य सदस्यहरू अर्को सवारीमा केही दूरी पछाडि रहेका र घटनाबारे पछि मात्रै जानकारी पाएको बताइएको छ।
भिक्टोरियाका वाणिज्यदूत नीराजन गौलीले घटनालाई “निकै पीडादायक र दुःखद” भन्दै तीन नेपालीको घटनास्थलमै मृत्यु भएको र एक महिलाको उपचार भइरहेको पुष्टि गरेका छन्।
त्यसैगरी, एनआरएन भिक्टोरियाका संयोजक महादेव धानुकले घाइतेको उपचार र परिवारलाई सहयोगका लागि संघ सक्रिय रहेको बताएका छन्।
भिक्टोरिया प्रहरीले भने दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस