काठमाडौ,२७ कार्तिक। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी विषयमा राजनीतिक दलहरूसँग छलफल गरेको छ।
आयोगको कार्यालय, कान्तिपथमा भएको उक्त छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू र नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका दलका प्रतिनिधिहरू सहभागी थिए।
आयोगका सचिव माहादेव पन्थले राष्ट्रियसभाको निर्वाचनका प्राविधिक तयारीका विषयमा दलहरूसँग परामर्शपछि निर्वाचन कार्यक्रम सार्वजनिक गरिने जानकारी दिए।
कानुन अनुसार, सभाको सदस्यको पदावधि सकिनु ३५ दिनअघि निर्वाचन हुनुपर्ने व्यवस्था रहेको छ। यस अनुसार आगामी फागुन २१ गते कार्यकाल समाप्त हुने १९ मध्ये १८ सदस्यका लागि निर्वाचन हुने भएको छ, भने एक सदस्य राष्ट्रपतिबाट मनोनित हुनेछन्।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य, प्रदेशका स्थानीय तहका अध्यक्ष–उपाध्यक्ष, र नगरपालिकाका प्रमुख–उपप्रमुखहरूले मतदान गर्नेछन्।
प्रत्येक प्रदेशसभा सदस्यको मतभार ४८ र अध्यक्ष–प्रमुख तथा उपाध्यक्ष–उपप्रमुखको मतभार १८ हुने कानुनी व्यवस्था छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस