काठमाडौ,९ मंसिर ।नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले नयाँ नेतृत्व चयनका लागि ११ औँ राष्ट्रिय महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।
संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार मंसिर ९ गतेदेखि विभिन्न जिल्लामा प्रतिनिधि छनोट प्रक्रिया अघि बढेसँगै महाधिवेशनको तयारी प्रारम्भ भएको हो।
एमालेले मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि प्रतिनिधि छान्न अधिकांश जिल्ला कमिटीले मंसिर ९ मै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेका छन्।
पार्टीले सबै तहका कमिटीलाई सम्भव भएसम्म सर्वसम्मत रूपमा प्रतिनिधि चयन गर्न निर्देशन दिएको छ। सहमति नभए मंसिर १३ गते मतदान गरेर प्रतिनिधि छनोट गर्न भनिएको छ।
यस बीच, केही जिल्लामा उम्मेदवारी शुल्क अत्यधिक लिने प्रयास भएको भनिएका घटनापछि संगठन विभागले १ हजार रुपैयाँभन्दा बढी शुल्क लिने कमिटीविरुद्ध कारबाही गर्ने चेतावनी दिएको छ।
संगठन विभागका सचिव माधव ढुंगेलका अनुसार मंगलबारसम्म करिब ४० जिल्लामा मतदाता नामावली सार्वजनिक भएको छ। बाँकी जिल्लामा बुधबारनामावली प्रकाशित हुनेछ। प्रतिनिधि छनोट प्रक्रिया पार्टीको अन्तरपार्टी निर्देशन (अपानि-१३) अनुसार सञ्चालन भइरहेको छ।
निर्देशनअनुसार मंसिर ९ र १० मा मतदाता नामावली प्रकाशन गर्ने, मंसिर ११ सम्म दाबी–विरोध टुंग्याएर सहमति खोज्ने, सहमति नजुटे मंसिर १२ मा मतदान तयारी गर्ने र मंसिर १३ गते सबै जिल्लामा निर्वाचन सम्पन्न गर्ने योजना छ।
एमालेमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि छनोट गरिन्छ। १२ सय सदस्य बराबर ४ जना प्रतिनिधि—कम्तीमा एक महिला र एक ४० वर्षमुनिका युवा—छानिने व्यवस्था छ। १२ सयभन्दा बढी सदस्य भए प्रत्येक थप ८०० सदस्यमा एक–एक खुला र एक महिला प्रतिनिधि थपिने नियम लागु हुन्छ। यस आधारमा करिब १२ सय प्रतिनिधि निर्वाचन क्षेत्रबाटै चयन हुने एमालेको अनुमान छ।
हालको ३५५ सदस्यीय केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषदका सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन्। बाँकी प्रतिनिधि भने निर्वाचन प्रक्रियामार्फत छानिनेछन्।
एमालेले विभिन्न संरचना र क्षेत्रका आधारमा प्रतिनिधिको संख्या यसरी अनुमान गरेको छ—प्रदेश कमिटीबाट ४५, विशेष जिल्ला चारवटाबाट ४७, दलित कोटाबाट ८१, मजदुर विभागबाट ४९, प्रवासबाट ३५, केन्द्रीय विभागबाट ३२, जनसंगठनबाट १३७ र अन्य संगठनबाट पनि निश्चित संख्यामा प्रतिनिधि चयन हुनेछन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस