दाङ,१२ मसिर । विश्वका १०० देशमा एकैसाथ अघि बढ्न लागेको १०० दिने बालविवाहविरुद्ध अभियान शुक्रबार देखि नेपालमा सुरु गरिएको छ ।
१०० दिने राष्ट्रिय अभियान २०८२ को औपचारिक सुरुआत दाङको तुलसीरबाट गरिएको हो । तुलसीपुरमा विविध तथा जनसचेतना मुलक कार्यक्रमसँगै अभियानको उद्घाटन गरिएको हो । बालविवाहविरुद्धको सडक नाटक, र्याली जुलुस, र दीप प्रज्वलन गरि अभियानको शुभारम्भ गरिएको हो।
राष्ट्रिय बालअधिकार परिषदको समन्वयमा जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल (JRCN) ले बाल विवाह मुक्त नेपाल अभियान सञ्चालन गरिरहेको छ। अभियानमा सहकार्य गरेको बेस संस्थाका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीले कार्यक्रममा बालविवाह नेपाली समाजकै एक गंभीर समस्या भएकाले १०० दिने अभियानले सबै तहका सरकार र समुदायलाई थप उत्तरदायी बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । कार्यक्रम निर्देशक पींकी डाँगीले बालविवाह अन्त्यका सबैको साझा प्रतिबद्धताको आवश्यकता रहेको बताइन्।
JRC Network को सदस्य संस्थाका रूपमा JRCN वर्षौंदेखि नेपाल सरकारसँग सहकार्य गर्दै संघीय, प्रदेश तथा स्थानीय तहमा बालविवाह रोकथामका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्षको अभियान विशेषगरी समुदायस्तरमा व्यवहार परिवर्तन र स्थानीय सरकारको सक्रियतामार्फत बालविवाह उन्मूलनलाई दिगो बनाउने उद्देश्यअन्तर्गत सञ्चालन गरिएको हो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, विद्यालयका प्रतिनिधि, पत्रकार, सामाजिक अगुवा तथा सर्वसाधारण नागरिकहरूको उल्लेख्य सहभागिता थियो। सहभागीहरूले “बालविवाहमुक्त नेपाल हाम्रो प्रतिवद्धता” लेखिएको प्लेकार्ड बोकेर अभियानप्रति ऐक्यबद्धता जनाए। यस अभियानमार्फत नेपालले बालविवाह अन्त्यका लागि विश्वका १०० देशसँगै आफ्नो सक्रिय उपस्थिति जनाउँदै भविष्यतर्फको दृढ प्रतिज्ञा प्रकट गरेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस