दाङ,२३ मंसिर । दाङको तुलसीपुरमा दोस्रो नेवारी सडकखाना महोत्सव सुरु भएको छ । नेवार समुदायको संस्कार र सांस्कृतिक पहिचानको जगेर्ना गर्ने उद्देश्यले उक्त खाना महोत्सव सुरु भएको हो। मङ्गलबार एक औपचारिक कार्यक्रमका बीच खाना महोत्सवको उद्घाटन समेत गरिएको छ। महोत्सवमा नेवारी परिकार, कला तथा सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण रहेका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित उपमहानगरपालिकाको गेट नजिकै महोत्सव सञ्चालन भएको छ। ‘यःमरी पून्ही या सकसीत लसताय भिन्तुना ’ नारासहित सुरु गरिएको महोत्सव मंसिर २९ गतेसम्म चल्ने छ। महोत्सवमा विभिन्न नेवारी परिकारको प्रदर्शनी तथा बिक्रीका लागी राखिएको छ।
नेवा देय दवु तुलसीपुर नगरका अध्यक्ष शिव श्रेष्ठको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रमको।उद्घाटन गरिएको हो।
तुलसीपुर उपमहानगरपालिकाको मुख्य आयोजना तथा ‘नेवा: देय दवु (नेवा: राष्ट्रिय मञ्च)’ र ‘नेवा: मिसा दवु’ को सहआयोजनामा उक्त महोत्सव सन्चालन भएको हो।
कार्यक्रममा उपप्रमुख चौधरीले तुलसीपुरमा नेवार समुदायको बसोबास कम भए पनि कला, संस्कार र संस्कृतिको संरक्षणमा समुदाय निरन्तर सक्रिय रहेको बताइन्। उनले यस महोत्सवले बहुसांस्कृतिक समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष नरेशराज भण्डारी, स्थानीय नेताहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
गत वर्ष पनि महोत्सव आयोजना गरिएको थियो, जसमा ३ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। यस वर्ष भने करिब ८ लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ। गत वर्ष तीन दिन सञ्चालन भएको महोत्सव यस वर्ष एक सातासम्म हुनेछ। महोत्सव दिउँसो ३ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
महोत्सवको स्वागत नगर महिला उपाध्यक्ष सुदृष्टी श्रेष्ठले गरेकी थिइन् । सहजीकरण तुफानबाबु श्रेष्ठले गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस