काठमाडौं, २४ मंसिर। अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा गैरसरकारी संस्था महासङ्घ सहित देशभरका नागरिक समाज, संघसंस्था र मानवअधिकार अभियन्ताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई समसामयिक विषयसम्बन्धी ध्यानाकर्षण पत्र बुझाएका छन्।
महासङ्घका अध्यक्ष अर्जुन भट्टराईका अनुसार पत्रमा लोकतन्त्र, संविधान र मानवअधिकारको संरक्षण, दण्डहीनताको अन्त्य, नागरिक स्वतन्त्रताको सुनिश्चितता, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा स्वच्छ र भयरहित निर्वाचनको माग राखिएको छ।
भाद्र २३–२४ मा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना पनि पत्रमा उल्लेख गरिएको छ।
नागरिक समाजले सरकारले निजी क्षेत्र र समुदायसँग सहकार्य नगरी देशको समग्र विकास सम्भव नहुने बताउँदै, सामाजिक रूपान्तरण, मानवअधिकार प्रवर्द्धन, लैङ्गिक समानता, विपद् व्यवस्थापन र सामुदायिक सशक्तिकरणमा गैरसरकारी क्षेत्रको भूमिका सुनिश्चित गर्न आग्रह गरेको छ।
पत्रमा पछिल्ला दिनमा देखिएका संघ–संस्था कमजोर पार्ने प्रयास, अभियन्तालाई अपराधीझैँ व्यवहार गर्ने गतिविधि र नागरिक समाजलाई निरुत्साहित गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै, भयरहित कार्य वातावरण बनाउन कानुनी तथा संस्थागत सुधार आवश्यक रहेको उल्लेख छ।
यस्तै, राजनीतिक दल, निजी क्षेत्र, सहकारी तथा वित्तीय क्षेत्रसँग परामर्श गरी विश्वसनीय र समयमै निर्वाचन गराउनुपर्ने र जेन–जी आन्दोलनले उठाएका सुशासन, जवाफदेहिता र भ्रष्टाचार सम्बन्धी मुद्दामा सरकारले गम्भीर हुनुपर्ने माग पनि राखिएको महासङ्घले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस