काठमाडौँ,२४ मंसिर। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले अन्तिम चरणमा स्थान पक्का गरेको हो।
काठमाडौँले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १४ बल बाँकी छँदै पूरा गर्यो। उक्त हारसँगै काठमाडौँ प्रतियोगिताबाट बाहिरिएको छ।
लुम्बिनीका लागि ओपनर डार्शी सर्टले ३४ बलमा २ छक्कासहित ३३ रन बनाए। सन्दीप जोराले २३ बलमा १ चौका र १ छक्कासहित २३ रन जोडे। कप्तान रोहित कुमार पौडेलले २५ बलमा १८ रन (१ चौका, १ छक्का) जोडे।
निरोशन डिकवेलाले १४ बलमा २ चौकासहित १४ रन बनाए।
काठमाडौँका सन्तोष यादवले २ विकेट लिए भने कप्तान करण केसी, सन्नी पटेल, शाहब आलम र रासिद खानले एक–एक विकेट लिए।
टस जितेर पहिले ब्याटिङ थालेको काठमाडौँ १९.१ ओभरमै १११ रनमा अलआउट भयो। यो एनपीएलको दोस्रो संस्करणमा पहिले ब्याटिङ गर्दै बनेको सबैभन्दा कम स्कोर हो।
इन्किङ्सभर काठमाडौँका ब्याट्सम्यानहरू लुम्बिनीका बलरसामू संघर्षरत देखिए। टोलीले १४ रन पुग्नुअघि नै चार विकेट गुमाइसकेको थियो।
काठमाडौँका लागि आठौँ नम्बरका सन्तोष यादवले सर्वाधिक २३ रन बनाए। उनले १७ बलमा १ छक्का प्रहार गरे। नवौँ नम्बरका मोहम्मद आदिल आलमले ११ बलमा २ छक्का र १ चौकासहित १८ रन जोडे।
जोन सिम्पसनले १८ रन, भीम सार्कीले १४ रन बटुले। ओपनर आकाश त्रिपाठी र बेन चार्ल्सवर्थ क्रमशः १ र ४ रनमै आउट भए।
सनी पटेल ७, मिलिन्द कुमार २ र रसिद खान २ रनमा गिरे। कप्तान करण केसीले १४ बलमा १ छक्कासहित ९ रन बनाए। साहब आलम ४ रनमा अविजित रहे। काठमाडौँले अतिरिक्त ९ रन पायो।
लुम्बिनीका शेर मल्ल र रोहित पौडेलले ३–३ विकेट लिए। शेरले ४ ओभरमा २२ रन खर्चिए भने कप्तान पौडेलले ४ ओभरमा २५ रन दिए।
रुवेन ट्रम्पलम्यानले २ विकेट र अभिशेष गौतमले १ विकेट लिए।
अब फाइनल प्रवेशका लागि लुम्बिनीले बिहीबार विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस