काठमाडौँ, २५ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा संलग्न रहेको भन्दै सहसचिव तीर्थराज भट्टराईसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले दायर गरेको आरोपपत्रअनुसार सहसचिव भट्टराईसँगै अधिकृत यज्ञराज अर्याल, ग्रीनलाइन होलिडेज प्रालिका अध्यक्ष बालकृष्ण खड्का, फेमिली होलिडेज ट्राभल्स एण्ड टुर्सका सञ्चालक दीपक भण्डारी, राम खड्का, कविता पौडेल र जग्गा कारोबारी खेमप्रसाद सुवेदीलाई प्रतिवादी बनाइएको छ। उनीहरूलाई भिजिट भिसामा विदेश जाने नेपालीबाट अवैध रूपमा रकम असुलेको आरोप छ।
सहसचिव भट्टराईलाई गएको जेठमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको थियो। उनी त्यतिबेला अध्यागमन कार्यालयमा प्रमुखका रूपमा कार्यरत थिए। अख्तियारले भट्टराईविरुद्ध मात्रै ७९ लाख ८० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ।
यससँगै तीन जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि दायर गरिएको छ। शुद्धीकरण सम्बन्धी मुद्दामा सहसचिव भट्टराई, कविता पौडेल र खेमप्रसाद सुवेदीलाई प्रतिवादी बनाइएको छ, र उनीहरूमाथि १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो कायम गरिएको अख्तियारले जनाएको छ।
त्यस्तै, भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि समेत अनुसन्धान जारी रहेको अख्तियारको भनाइ छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस