दाङ,२५ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा निर्माण सम्पन्न प्रशासनिक भवन आज एक समारोहका बीच उद्घाटन गरिएको छ। वडा अध्यक्ष रामबहादुर जिसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा नवनिर्मित भवन उद्घाटन गरिएको हो ।
भवन उद्घाटन गर्दै उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले वडाले साँघुरो स्थानबाट सेवा दिनुपर्ने बाध्यता अन्त्य भएको बताए। उनले नयाँ भवन सञ्चालनमा आएसँगै वडाका प्रशासनिक सेवा अझ सहज र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले भवनअनुसार गुणस्तरीय सेवा दिनु वडाको दायित्व भएको बताइन् । उनले सेवाग्राहीका मागलाई प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गरिन्। साथै, भवनको संरक्षणमा नागरिकको सक्रिय भूमिका आवश्यक रहेको उनले उल्लेख गरिन्।
तुलसीपुर उपमहानरगपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पाण्डेले वडालाई नागरिकले प्रत्यक्ष सेवा पाउने सरकारको मूल इकाइ भन्दै नीतिको इमानदार कार्यान्वयन र नागरिक,जनप्रतिनिधि कर्मचारीबीचको समन्वय सुदृढ भएमा उपमहानगरको विकास गति थप तीव्र हुने बताए।
वडा नं. ७ का निर्वतमान वडा अध्यक्ष टोप बहादुर केसीले भवन नहुँदा सेवा प्रवाहमा भएको समस्याको स्मरण गर्दै उनले अबका दिनमा सेवा प्रभाव छिटो छरितो बन्ने अपेक्षा व्यक्त गरे।
कार्यक्रममा तुलसीपुर–३ का अध्यक्ष बिजय बिक, तुलसीपुर–१४ का अध्यक्ष शंकर कुमार खड्का लगायतले वडाको आफ्नै प्रशासनिक भवन बनेपछि सेवा प्रवाहमा सहजता हुने बताएका थिए । सो अवसरमा, मावि कालाखोलाका प्रधानाध्यापक राजीब ओझा, श्री गणेश सामुदायिक वनका अध्यक्ष डिल्लीराज भण्डारी, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले भवनको संरक्षण गर्नु नागरिकको दायित्व रहेको उल्लेख गरेका थिए ।
राप्ती लाइफ केयर अस्पतालको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो भने लायन्स क्लबले निशुल्क खानेपानी वितरण गरेको थियो ।
कार्यक्रममा निवर्तमान वडा अध्यक्ष, वडा सदस्यहरु, विभिन्न क्षेत्रमा योगदान पुर्याएका ब्यक्तिलाई सम्मान गरिएको हो । वडा सदस्य सोभाराम भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडाका कर्मचारी सन्तोष केसीले गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस