after_navbar

एनपिएल: विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा


४ घण्टा अगाडि


काठमाडौं,२५ मंसिर । लुम्बिनी लायन्सले विराटनगर किङ्ग्सलाई ४० रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल यात्रा तय गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको क्वालिफायर–२ मा लुम्बिनीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल प्रवेश सुनिश्चित गर्यो।

ad

पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३४ रनको मध्यम स्कोर बनाएको थियो। कप्तान रोहित पौडेल र डी’आरसी शटले दोस्रो विकेटमा ६९ रनको महत्त्वपूर्ण साझेदारी गरेर टीमलाई उकासे। शटले सर्वाधिक ४५ रन बनाए भने रोहितले ३० रनको योगदान दिए।

जवाफमा उतरेको विराटनगर १७.५ ओभरमै ९४ रनमा समेटियो। विराटनगरले मात्र ६ रन जोड्दा ३ विकेट गुमाएको थियो। ट्रम्पलमनले लगातार बलमा मार्टिन गप्टिल (२) र लोकेश बम (०) लाई आउट गरे। अर्को ओभरमा शेर मल्लले फाफ डु प्लेसिसलाई ३ रनमै बोल्ड गरेपछि विराटनगर दबाबमा परेको थियो।

विराटनगरका साम हेजलेटले ३४ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ दिन नसकेपछि टोली १०० रन पुग्न पनि असफल भयो। नरेन भट्टले २१ रन बनाएर अन्तिमसम्म संघर्ष गरे।

लुम्बिनीका तिलकराज भण्डारी उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। अभिशेष गौतम, रुबेन ट्रम्पलमन र जेजे स्मिटले २–२ विकेट तथा शेर मल्लले १ विकेट लिए।

विराटनगरतर्फ सुवास भण्डारी र प्रतिश जिसीले ३–३ विकेट लिए। सुवासले ४ ओभरमा मात्र १४ रन खर्चेर शुरुवाती क्षतिका लागि जिम्मेवार बनाए।

लुम्बिनी लायन्सले अब शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दै उपाधि यात्रामा चुनौती पेश गर्नेछ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="