after_navbar

गोरखा माविका शिक्षकहरुको सामुहिक राजीनामाः प्रशासन भन्छ– ‘यस विषयमा कुरै गर्नु छैन’


१३ घण्टा अगाडि


दाङ,२८ मंसिर। तुलसीपुरस्थित गोरखा माध्यमिक विद्यालयमा लामो समयदेखि अध्यापन गराउँदै आएका १० जना शिक्षकले सामूहिक रूपमा राजीनामा दिएका छन्। करिब १४ वर्षदेखि विद्यालयमा सेवा दिँदै आएका अनुभवी शिक्षकसमेत राजीनामा दिन बाध्य भएको घटना सार्वजनिक भएपछि विद्यालय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।

ad

राजीनामा दिने शिक्षकहरूका अनुसार विद्यालय प्रशासनले कुनै आधिकारिक छानबिन नगरी बाह्य हल्लाका आधारमा उनीहरूमाथि मासिक रूपमा मानसिक यातना, दोषारोपण तथा अपमानजनक व्यवहार गर्दै आएको थियो। शिक्षक कमल भण्डारीले प्रशासनले आफूलाई जानकारी नदिई प्रयोग गर्दै आएका सामग्रीहरू फिर्ता माग्ने, प्रयोगमा रहेको सिमकार्ड अचानक बन्द गरिदिने तथा ह्वाट्सएप समूहबाट एडमिन हटाउनेजस्ता कदम चालेको बताए।

उनका अनुसार कर्मचारीमार्फत कक्षाकोठामै पुगेर ‘विद्यालयबाट निस्कनु’ भनेर दबाब दिने कार्यले आफूहरूलाई गहिरो मानसिक पीडा दिएको थियो। “बिना प्रमाण, बिना सुनुवाइ हल्लाको भरमा हामीमाथि अन्याय गरियो,” भण्डारीले भने।

यस्तै शिक्षिका मञ्जु कँडेलले कक्षाकोठामै पुगेर विद्यालय प्रशासनले ‘भोलिदेखि विद्यालय नआउनू’ भनेपछि आफू मानसिक रूपमा विचलित भएको बताइन्। पूर्वसूचना नै नदिई विद्यालयले आफूहरूको स्थानमा पहिल्यै वैकल्पिक शिक्षक तयार पारेर निकालिएको आरोप पनि उनले लगाइन्।

शिक्षक तारक रेग्मीले पनि प्रशासनले अपनाएको व्यवहार अपमानजनक र अमानवीय भएको भन्दै सामूहिक राजीनामा दिनु बाहेक अन्य विकल्प नरहेको बताए।


यसैबीच सामूहिक राजीनामा दिएका शिक्षकहरूले विद्यार्थी र अभिभावकसँग माफी मागेका छन्। उनीहरूले आफ्नो कारणले पठनपाठनमा पर्न सक्ने असरप्रति दुःख व्यक्त गर्दै भनेका छन्, “हामीले चाहेर होइन, बाध्यताले यो निर्णय लिनुपरेको हो। यसले विद्यार्थीहरूको भविष्यमा कुनै असर नपरोस् भन्ने हाम्रो कामना छ। विद्यार्थी र अभिभावकहरूसँग हामी हृदयदेखि माफी चाहन्छौं।”

यता यस विषयमा गोरखा माध्यमिक विद्यालयका प्रिन्सिपल विजयमान जिएमले कुनै प्रतिक्रिया दिन नचाहेको बताएका छन्। प्रिन्सिपल जिएमले ‘ मलाई यस विषयमा कुरै गर्नु छैन’ भन्दै प्रतिकृया दिन चाहेनन् । शिक्षकहरूको सामूहिक राजीनामाबारे विद्यालय प्रशासन तत्काल आधिकारिक धारणा सार्वजनिक गर्ने पक्षमा नरहेको उनको भनाइ छ।

घटनाले विद्यालय प्रशासनको पारदर्शिता, शिक्षकप्रति व्यवहार र संस्थागत व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। लामो समयदेखि सेवा दिँदै आएका शिक्षकहरू सामूहिक रूपमा बाहिरिनुले विद्यालयको शैक्षिक वातावरणमा प्रभाव पार्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="