after_navbar

तुलसीपुरमा QFX हल निर्माण हुँदै: दाङ सिनेमा नगरीका रूपमा पुनः उदाउने अपेक्षा


२० घण्टा अगाडि


दाङ,२ पुस । तुलसीपुरमा आधुनिक क्युएफएक्स (QFX) सिनेमा हल निर्माण हुन लागेको छ। लामो समयपछि आधुनिक चलचित्र घर सञ्चालनको तयारी सुरु भएसँगै तुलसीपुर सिनेमा नगरीका रूपमा पुनः उदाउने अपेक्षा गरिएको छ।

ad

क्युएफएक्सका सञ्चालक बसन्त लम्सालको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनिल केसीको प्रमुख आतिथ्यतामा आयोजित पत्रकार सम्मेलनमा क्युएफएक्स हल निर्माणबारे जानकारी दिइएको हो।

प्रमुख अतिथि विनिल केसीले निजी क्षेत्रको लगानीमा आधुनिक सिनेमा हल निर्माण हुनु स्वागतयोग्य भएको जानकारी दिए। उनले आधुनिक चलचित्र घर नहुँदा यस क्षेत्र मनोरञ्जन र चलचित्र व्यवसायमा पछाडि परेको उल्लेख गर्दै अब यसले गति लिने विश्वास व्यक्त गरे । साथै यसको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व भएको उनले जोड दिए ।

संगीत लेखक तथा निर्माता लम्सालले कर्मा समूहका कलाका अनिल बुढाथोकीको संयुक्त लगानीमा करिब २० करोड रुपैयाँको लागतमा सिनेमा हल निर्माण हुन लागेको जानकारी दिए।

उनका अनुसार निर्माण अघि माटो नमुना परीक्षण सम्पन्न भइसकेको छ। दुई वटा हल रहने र करिब ५ सय सिट क्षमताको सिनेमा घर निर्माण गरिने जानकारी दिए। हल अपाङ्गमैत्री संरचनामा निर्माण गरिने पनि उनले बताए ।

चलचित्र पत्रकार सङ्घ लुम्बिनी प्रदेश संयोजक शिव पुनले तुलसीपुरमा आधुनिक सिनेमा हल सञ्चालन हुन लागेको विषय सकारात्मक रहेको जानकारी दिए। उनले दाङ सिनेमा व्यवसायका लागि उर्वर भूमि भए पनि पुराना हल बन्द हुँदै जाँदा लामो समयदेखि आधुनिक सिनेमा घरको अभाव रहेको उल्लेख गरे।

नारायणपुरमा हल सञ्चालनमा आएपछि दाङ पुनः नेपाली सिने क्षेत्रमा पहिचान बनाउन थालेको र अहिले तुलसीपुरमा क्युएफएक्स हल निर्माण हुनुले त्यो अभियानलाई थप बल पुगेको उनको भनाइ थियो।

पत्रकार सम्मेलनको सहजीकरण पत्रकार बसन्त पौडेलले गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="