दाङ,३ पुस । जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयलाई तथ्यमा आधारित, संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत गर्नु पत्रकारको प्रमुख दायित्व भएको सरोकारवालाले बताएका छन्। जनस्वास्थ्यका मुद्दामा सही सूचना प्रवाह र गलत सूचना नियन्त्रणका लागि सञ्चारमाध्यमको भूमिका निर्णायक हुने उनीहरूको जोड रहेको छ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजना तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा घोराहीमा आयोजित जनस्वास्थ्य सचेतना तथा सिकलसेल एनेमिया न्यूनीकरणमा पत्रकारको भूमिका विषयक कार्यशालामा वक्ताहरूले यस्तो धारणा राखेका हुन्।
कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले प्रतिष्ठानले हालसम्म सञ्चालन गरेका स्वास्थ्य सेवा, कार्यक्रम र जनस्वास्थ्य सुधारका प्रयासबारे जानकारी गराउँदै संस्थागत पहलले समुदायस्तरमा स्वास्थ्य सचेतना बढाउन महत्वपूर्ण योगदान दिएको बताए।
वरिष्ठ नेत्र रोग विशेषज्ञ तथा अस्पतालका सह–निर्देशक डा. सुरेश रसाइलीले चिकित्सकका लागि आचारसंहिता र व्यवसायिक नैतिकताको महत्व औंल्याउँदै नैतिक अभ्यासबिनाको स्वास्थ्य सेवा दीगो हुन नसक्ने बताए। उनले स्वास्थ्य सेवाप्रति जनविश्वास कायम राख्न नैतिकता अपरिहार्य रहेको उल्लेख गरे।
सिकलसेल एनेमियाबारे प्रस्तुति दिँदै अजयराज गौतमले रोगको कारण, लक्षण, परीक्षण, उपचार तथा न्यूनीकरणका उपायबारे जानकारी दिए। सिकलसेल एनेमिया जनस्वास्थ्यको चुनौती भएकाले समयमै पहिचान र निरन्तर सचेतना आवश्यक रहेको उनको भनाइ थियो।
स्वास्थ्य पत्रकारिताबारे आफ्नो प्रस्तुतिकरण दिँदै डा. सुदिप गौतमले तथ्यपरक र उत्तरदायी रिपोर्टिङले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए। गलत सूचना फैलिन नदिन र सही सन्देश समुदायसम्म पुर्याउन पत्रकारले विशेष सावधानी अपनाउनुपर्ने उनले बताए।
त्यस्तै, डा. सुलभ रेग्मीले जनस्वास्थ्यका समसामयिक विषय, रोग निवारणमा समुदायको सहभागिता र सञ्चारको भूमिकाबारे धारणा राखे। पत्रकारिता र स्वास्थ्य क्षेत्रबीचको सहकार्यले नीति निर्माणदेखि व्यवहार परिवर्तनसम्म प्रभाव पार्ने उनले उल्लेख गरे।
कार्यशालामा सहभागी पत्रकारहरूले जनस्वास्थ्य र सिकलसेल एनेमियाजस्ता विषयमा जिम्मेवार र प्रभावकारी रिपोर्टिङका लागि समय-समयमा क्षमता अभिवृद्धि गराइनु पर्ने बताएका थिए दिएका छन्। आयोजकका अनुसार यस्ता कार्यक्रमले पत्रकार र स्वास्थ्य क्षेत्रबीचको सहकार्य सुदृढ गर्ने भन्दै प्रतिष्ठानले आगामी दिनमा पत्रकार महासंघसँगको सहकार्यमा अन्य कार्यक्रमहरू समेत सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस