कञ्चनपुर, ५ पुस। कञ्चनपुर कारागारमा कैदीबन्दीबीच भएको झडपमा आठ जना घाइते भएका छन् । शुक्रबार साँझ कारागारको आन्तरिक प्रशासन सञ्चालन गर्दै आएका नाइके र चौकीदारसँग अन्य कैदीबन्दीबीच विवाद बढ्दै जाँदा झडपको अवस्था सिर्जना भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराका अनुसार झडपमा घाइते भएका सबै कैदीबन्दीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नाइके र चौकीदारले व्यवहारमा विभेद गरेको आरोपपछि विवाद सुरु भएको थियो । सो विवाद नियन्त्रण बाहिर गएपछि झडपमा परिणत भएको बताइएको छ । हाल कारागारको अवस्था सामान्य रहेको र सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ ।
यसैबीच, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले घटनाको छानबिन गर्न समिति गठन गरिने जानकारी दिएका छन् । उनले कारागारको आन्तरिक प्रशासनमा देखिएका कमजोरीबारे छानबिन गरी आवश्यक सुधारात्मक कदम चालिने बताएका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस