after_navbar

तुलसीपुर महोत्सवमा शनिबार ‘हाउसफुल’


१४ घण्टा अगाडि


दाङ, ५ पुस । दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सव दोस्रो दिन शनिबार ‘हाउसफुल’ बनेको छ। चर्चित कलाकारहरूको प्रस्तुति हेर्न दर्शकको अत्यधिक भीड लागेपछि महोत्सवस्थल पूरै भरिभराउ देखिएको थियो।

ad

महोत्सवको मुख्य आकर्षणका रूपमा चर्चित लोकदोहोरी गायक रामजी खाँड र गायिका भूमिका गिरीले प्रस्तुति दिएसँगै दर्शकको उत्साह बढेको थियो।

गायक रामजी खाँडले ‘तिम्रो त बोलिमा मन्त्र मोहनी’, ‘डाली नुह्यो चरीले टेकेर’, ‘मन परेको मान्छेको नाम दिलमै लेखिन्छ’, ‘अमिलो रसैले’ लगायतका चर्चित गीत प्रस्तुत गर्दा दर्शक छमछम नाचेका थिए। उनका सदाबहार लोकदोहोरी गीतमा दर्शकले ताली र हुटिङ गर्दै साथ दिएका थिए।

यस्तै, गायिका भूमिका गिरीले ‘सरर आउ माया’, ‘मिनी बसमा चढेर जाउ माया’, ‘चिसोमा चिसो बतासै सरर’, ‘चोली मैलो भो’ र ‘तारासँगै जुन’ जस्ता लोकप्रिय गीत गाएर दर्शकलाई झुमाएकी थिइन्। मञ्च अगाडि ठूलो जनसागर नाचगानमा रमाएको थियो।

शनिबारको कार्यक्रममा गायक गायिकासँगै रचना चौधरी, राजमान खत्री लगायत स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहेको थियो। कलाकारहरूले गीतसंगीतसँगै दाङको स्थानीय उत्पादन, संस्कृति र पर्यटन प्रवर्द्धनमा महोत्सवको भूमिकाबारे पनि धारणा राखेका थिए।

महोत्सव अवलोकन गर्न रुकुम पश्चिम, सल्यानलगायत टाढा–टाढाबाट दर्शक आएका थिए। रुकुम पश्चिमबाट आएकी टिका वलीले सय रुपैयाँको टिकटमा धेरै मनोरञ्जन लिन पाएको बताइन्। “पहिलाको भन्दा यो पटकको महोत्सव सबै हिसाबले राम्रो लाग्यो,” उनले भनिन्।

महोत्सवस्थलमा निर्माण गरिएको लण्डन ब्रिजको नमूना र जलपरी आकर्षणका केन्द्र बनेका छन्। ती संरचना हेर्न युवापुस्ता र बालबालिकाको लामो लाइन देखिएको थियो। सल्यानबाट आएकी सीता साहुले यसपटकको व्यवस्थापन र आकर्षणले महोत्सव झनै रमाइलो बनेको बताइन्।

महोत्सवमा राखिएका स्टलहरूमा पनि शनिबार राम्रो चहलपहल देखिएको थियो। स्थानीय कृषि उपज, हस्तकला र होटल व्यवसायमा राम्रो कारोबार भएको व्यवसायीहरूले बताएका छन्।

महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीले शनिबार दर्शकको अत्यधिक उपस्थिति रहेको जानकारी दिए। उनका शुक्रबार औपचारिक उद्घाटन भएपछि शनिबारदेखि मनोरञ्जनात्मक कार्यक्रम सुरु भएका हुन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा सञ्चालन भइरहेको यो महोत्सवले दाङको पर्यटन प्रवर्द्धन र स्थानीय व्यापारलाई चलायमान बनाउने विश्वास गरिएको छ। महोत्सव पुस १९ गतेसम्म सञ्चालन हुनेछ।

महोत्सवका महासचिव भद्रबहादुर वलीका अनुसार आइतबार पनि राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरूको प्रस्तुति रहनेछ। आइतबार चर्चित गायक कुलेन्द्र विश्वकर्मा, प्रेम शर्मा र गायिका सीता थापा लगायत कलाकारहरूले प्रस्तुति दिने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="