दाङ,२० पुस । रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार सुनछहरी गाउँपालिका–१ गामखोला क्षेत्रमा गएराति करिब १० बजे विद्यार्थी बोकेको बोलेरो जीप दुर्घटनामा परेको हो। सेरमबाट सिउरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जीप आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेको उक्त जीप दुर्घटनामा गम्भीर घाइते भएका सुनछहरी गाउँपालिका–४ निवासी १२ वर्षीय सुनिल बिक र १२ वर्षीया दीपा पुनको उपचारका क्रममा गएराति साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए।
दुर्घटनामा सुनछहरी गाउँपालिका–४ सिउरीका १५ वर्षीय हिमाल बिक, १२ वर्षीया अमृता पुन, १४ वर्षीया जमुना बिक, २४ वर्षीया अस्मिता बिक, १५ वर्षीया पवित्रा पुन, १६ वर्षीय शनि बिक, १२ वर्षीया बिपना घर्तीमगर, १५ वर्षीय किसन घर्तीमगर र १५ वर्षीया हस्तिरा बिक घाइते भएका छन्।
घाइते सबैलाई गएराति उपचारका लागि लुम्बिनी सिटी अस्पताल, बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले जीप चालक लुङ्ग्री गाउँपालिका–७ हर्जाङ छोपे निवासी २५ वर्षीय मनसुर घर्तीलाई नियन्त्रणमा लिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस