काठमाडौ,२० माघ । मोरङको रंगेली नगरपालिकामा एक युवकले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेको घटना सार्वजनिक भएको छ।
रगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले सोही वडाको धनपट्टीस्थित ससुराली घर पुगेर २१ वर्षीया पत्नी अम्बिकाकुमारी मण्डलको चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीका अनुसार घटना मंगलबार बिहान करिब २ः४५ बजे भएको हो।
प्रारम्भिक अनुसन्धानमा अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको खुलेको छ। पत्नीको हत्या गरेपछि मुकेशले पनि सोही चक्कुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
हाल दुवै जनाको शव घटनास्थलमै रहेको छ। घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली घटनास्थल पुगेको छ। प्रहरी टोलीले मुचुल्का उठाउने कार्य गरिरहेको जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस