काठमाडौं ,२३ माघ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि खोलिएका खाताको दुरुपयोग भए कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेको छ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोगले निर्वाचन प्रचार–प्रसारका लागि खोलिएका खाताको दुरुपयोग नहुनेमा आयोग विश्वस्त रहेको उल्लेख गर्दै दुरुपयोग भएको पाइएमा कानुन अनुसार कारबाही हुने जनाएको हो।
पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन प्रयोजनका लागि खोलिने खातासम्बन्धी विषयमा आयोगले आवश्यक निर्देशिका जारी गरिसकेको जानकारी दिए।
उम्मेदवारले तोकेर सहयोग माग्न नपाइने भए पनि स्वेच्छाले प्रदान गरिने सहयोगलाई कानुनले गैरकानुनी नमान्ने उनले बताए। चुनावका नाममा नियतवश आर्थिक दुरुपयोग भएको देखिए कानुन बमोजिम त्यसको समाधान गरिने उनको भनाइ थियो।
प्रवक्ता भट्टराईले मतदाता शिक्षाका लागि आवश्यक सामग्रीहरू जिल्ला सदरमुकामसम्म पुगिसकेको जानकारी दिँदै फागुन ४ गतेदेखि निर्वाचन प्रचार–प्रसार सुरु हुने बताए। सो अवधिमा मतदातामाथि कुनै किसिमको दबाब परेको छ कि छैन भन्ने विषयमा आयोगले निगरानी गर्ने उनले स्पष्ट पारे।
सरकारका सुरक्षा निकायहरूले आवश्यक सुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएकाले सुरक्षामा कुनै समस्या आउने अनुभूति आयोगलाई नभएको पनि उनले बताए।
यस्तै, निर्वाचनका लागि समानुपातिकतर्फका मतपत्र प्याकिङ भई मौज्दात अवस्थामा रहेको जानकारी दिँदै प्रत्यक्षतर्फका मतपत्र छपाइको काम तीव्र रूपमा भइरहेको बताए। हालसम्म करिब ८४ लाख ४० हजारभन्दा बढी मतपत्र छपाइ भइसकेको प्रवक्ता भट्टराईले जानकारी दिए
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस