काठमाडौं,१९फागुन। संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण आगामी फागुन २५ गते हुने भएको छ ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार नेपालको संविधानको धारा ८६ को उपधारा ९२० बमोजिम २०८२ साल माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यलाई राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले शपथ गराउनेछन् ।
शपथ कार्यक्रम फागुन २५ गते दिउँसो २ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजना गरिनेछ ।
सचिवालयले नवनिर्वाचित सदस्यहरूलाई शपथ कार्यक्रम सुरू हुनुभन्दा एक घण्टा अगावै औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाकमा उपस्थित हुन अनुरोध गरेको छ । साथै, निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एक–एक प्रति साथमा ल्याउन आग्रह गरिएको छ ।
यस्तै, नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा ९२० बमोजिम शपथको व्यहोरा मातृभाषामा अनुवाद गरी उक्त अनुवादको एक प्रति २०८२ साल फागुन २४ गतेसम्म संघीय संसद् सचिवालयमा उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस