काठमाडौं,२२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले सुरुवाती मतगणनामा अग्रता लिएका छन् ।
निर्वाचन क्षेत्र नं. ५ मा रास्वपाका उम्मेदवार बालेन शाहले ५ हजार २५४ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का केपी शर्मा ओलीले १ हजार ५७९ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं. ४ मा रास्वपाका शम्भुप्रसाद ढकाल १ हजार ७७५ मतसहित अगाडि छन् भने नेकपा (एमाले)का लालप्रसाद साँवा लिम्बूले ३०० मत प्राप्त गर्दै पछ्याइरहेका छन् ।
यसैगरी क्षेत्र नं. ३ मा रास्वपाका प्रकाश पाठकले २ हजार २८१ मतसहित सुरुवाती अग्रता लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद लिङ्देन १ हजार ६१० मतसहित दोस्रो स्थानमा छन् ।
क्षेत्र नं. २ मा रास्वपाकी इन्दिरा रानामगरले ४ हजार ५८० मत प्राप्त गर्दै अग्रता लिएकी छन् । उनलाई नेकपा (एमाले)का देवराज घिमिरेले ७१६ मतसहित पछ्याइरहेका छन् ।
यसैगरी क्षेत्र नं. १ मा रास्वपाकी निशा डाँगी ३ हजार १७० मतसहित अग्रस्थानमा रहेकी छन् । उनलाई श्रम संस्कृति पार्टीका केबल राईले १ हजार ३२० मतसहित पछ्याइरहेका छन् । मतगणना जारी रहेकाले अन्तिम नतिजाका लागि भने थप मत गणना हुन बाँकी रहेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस