दाङ,३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सुरु गर्ने भएको छ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया, संसदको कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारीबारे जानकारी गराइने पार्टीका प्रवक्ता मनिष झा ले जानकारी दिएका छन्। साथै पार्टीले अवलम्बन गर्ने नीतिबारे पनि छलफल गरिनेछ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक प्रणालीबाट १ सय ८२ सिट हासिल गरेको छ। पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटी ले नवनिर्वाचित सांसदहरूलाई कार्यक्रममा अनिवार्य उपस्थित हुन आग्रह गर्दै छ बुँदे निर्देशन जारी गरेका छन्।
निर्देशनअनुसार कार्यक्रम हलभित्र मोबाइल फोन प्रयोग गर्न पाइने छैन भने अन्य व्यक्ति वा पाहुनाको प्रवेशसमेत निषेध गरिएको छ। परिवारका सदस्य, साथी वा अन्य अतिथिलाई होटलमा आमन्त्रण नगर्न पनि भनिएको छ।
सांसदहरूका चालक तथा अन्य सहयोगीको भोजन र आवासको व्यवस्था सम्बन्धित सांसदहरूले आफैं गर्नुपर्नेछ। साथै कार्यक्रममा सहभागी सांसदहरूले परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न पनि निर्देशन दिइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस