after_navbar

आजदेखि SEE परीक्षा सुरु: शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालन गर्न मन्त्री तिमिल्सिनाको अपिल


चैत १, २०८२


दाङ, १९ चैत – लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ लाई मर्यादित, अनुशासित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सबै सरोकारवालासँग अपिल गरेका छन्।
देशभर आज बिहीबारदेखि एकैसाथ सुरु भएको उक्त परीक्षामा लुम्बिनी प्रदेशबाट नियमित (साधारण तथा प्राविधिक धार) तर्फ ७२ हजार ८० जना तथा ग्रेड वृद्धि तर्फ १६ हजार ९ सय ३७ जना गरी कुल ८९ हजार १७ जना परीक्षार्थी सहभागी भएका छन्।
परीक्षा सञ्चालनका लागि प्रदेशका १२ वटै जिल्लामा ३ सय ३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षा व्यवस्थापनका लागि ३ सय ३८ केन्द्राध्यक्ष, ६ सय ३७ सहायक केन्द्राध्यक्ष, ४ हजार ४ सय ६७ निरीक्षक, ६ सय ६९ परीक्षा सहायक तथा ६ सय ७६ कार्यालय सहयोगी गरी कुल ६ हजार ७ सय ८७ जना जनशक्ति परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
परीक्षालाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलमार्फत आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ। साथै, सबै परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति, अभिमुखीकरण, प्रश्नपत्र तथा उत्तरपुस्तिका ढुवानी लगायत सम्पूर्ण तयारी पूरा भइसकेको सम्बन्धित निकायले जनाएको छ।
मन्त्री तिमिल्सिनाले परीक्षार्थीहरूलाई डर र त्रासविना उच्च मनोबलका साथ परीक्षामा सहभागी हुन आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन्। साथै, परीक्षा स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन स्थानीय प्रशासन, स्थानीय तह, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, पत्रकार तथा नागरिक समाजलाई समेत सहयोग गर्न आग्रह गरेका छन्।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="