after_navbar

नीतिगत असमझदारीले अर्थतन्त्र जोखिममाः मुख्यमन्त्री आचार्य


चैत ३०, २०८२


दाङ,३० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नीतिगत असमझदारीका कारण मुलुकको अर्थतन्त्र जोखिममा पर्न सक्ने बताएका छन् । सोमबार तुलसीपुर उपमहानगरपालिकाको ३४औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री केसीले यस्तो बताएका हुन् । उनले संघीय सरकार र प्रदेश तथा स्थानीय तहबीचको नीतिगत असमझदारीले विकास र अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्ने बताएका थिए।

उनले संघीय सरकारले ठाडो निर्देशन दिन खोज्दा समन्वयमा समस्या उत्पन्न हुने र त्यसले योजनाको कार्यान्वयनमा ढिलाइ ल्याउने धारणा व्यक्त गरे। संविधानले दिएको अधिकारभन्दा बाहिर गएर गरिने हस्तक्षेपले आर्थिक गतिविधि प्रभावित हुने चेतावनी उनले दिए।

मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकार संविधानअनुसार स्वायत्त रहेको उल्लेख गर्दै संघीय सरकारसँग सहकार्य, समन्वय र सहअस्तित्वका आधारमा अघि बढ्न आफूहरू तयार रहेको बताए।

उनले भदौपछि विभिन्न निर्देशन आउने क्रम बढेको उल्लेख गर्दै त्यसले नीतिगत स्पष्टता कमजोर बनाएको बताए। सञ्चार क्षेत्रप्रति संघीय सरकारले गरेको व्यवहारप्रति पनि असन्तुष्टि जनाउँदै उनले त्यस्ता निर्णय सच्याउन माग गरे। तीनै तहका सरकारबीच योजनाबद्ध ढंगले काम हुन नसक्दा विकास आयोजना प्रभावित हुने र त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्ने उनको भनाइ थियो।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य कमल सुवेदी, पूर्व नगरप्रमुख घनश्याम पाण्डे लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक संघसंस्थाका प्रमुखहरूले सरकारबीचको समन्वय अभावले विकास र सेवाप्रवाहमा असर पार्ने बताएका थिए। उनीहरूले स्पष्ट नीति, प्रभावकारी सहकार्य र अधिकारको सम्मानका आधारमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="