लमजुङ,१४ असार ।लमजुङको दोर्दी गाउँपालिका-९, धैरेनी सुनारटोलका विकल सुनार एसईई परीक्षाको नतिजाको पर्खाइमा थिए। जनकल्याण मावि चिती तलाहरबाट उनले एसईई दिएका थिए।
गत चैतमा भएको एसईई परीक्षाको नतिजा बिहिवार बिहान सार्वजनिक भयो । सार्वजनिक गरिएको नतिजा अनुसार उनी एसईईमा पास भएका छ।
तर १६ वर्षीय विकलले आफू पास भएको खुशीयाली परिवार, आफन्त र साथिभाइसंग साट्न पाएनन् । आफ्नो नतिजा हेर्नै पाएनन् ।
मंगलबार रातिको पहिरोले घर पुर्दा उनले ज्यान गुमाए ।उनले ज्यान गुमाएको २४ घण्टापछि बिहीबार एसईई परीक्षाको नतिजा आयो । जसमा उनले २.८० जीपीए ल्याएर उत्तीर्ण गरे ।
मंगलबार रातिको पहिरोले घर पुर्दा सुतेकै ठाउँमा १६ वर्षीय विकलको ज्यान गयो । पहिरोमा उनका दाजु १८ वर्षीय मिलन सुनार गम्भीर घाइते भए । दाजुभाइ सँगै सुतिरहेको अवस्थामा झरेको पहिरोले घरलाई सोहोर्दा उनीहरू घाइते भएका थिए ।
एसईई नतिजा आउने खबरसँगै प्रतिक्षामा रहेका उनले अब ११ पढ्न पाउने छैनन् । पहिरोसँगै विकलका सबै सपना विलाएका छन् ।
यो सामुदायिक विद्यालयले अन्यभन्दा अब्बल नतिजा पनि निकालेको छ । यस पटक एसईई दिएका ५१ मध्ये विकलसहित २३ जना उत्तीर्ण भएका छन् ।
जसमा ३.६ जीपीएभन्दा बढी १ जना, ३.२ जीपीए ४ जना र २.८ जीपीएसहित यो विद्यालयबाट १७ जना उत्तीर्ण भएका छन् । यीमध्ये विकल उच्च जीपीएसहित पाँचौँ स्थानमा रहँदै यो विद्यालयबाट उत्तीर्ण भएका थिए ।
पहिरोमा पुरिएर घाइते अवस्थामा मिलन र विकललाई उद्धार गरि अस्पताल लगियो । तर दाजु मिलन बाँचे, भाइ विकल सधैँलाई अस्ताए ।
विकललाई अस्पताल लाँदै गर्दा उनको प्राण गएको दोर्दी गाउँपालिका-९ वडाअध्यक्ष आशीष तामाङले बताए । मिलनको भने जिल्ला अस्पतालमा उपचार जारी छ ।
विकल बितिसकेको २४ घण्टापछि उनी २.८० जीपीए ल्याएर उत्तीर्ण भए । विकलको निधनको खबरले जनकल्याण मावि परिवार स्तब्ध छ ।
विकलकी आमा स्वास्थ्य स्वमय् सेविका हुन् । उनका बुवा किसान हुन् । बुवा रामकाजी सुनारले छोरालाई राम्रोसँग उच्च शिक्षा पढाउन बुनेको सपना तुहिएको छ ।
एकातिर कान्छो छोराको निधनको शोक छ भने अर्कातिर जेठा छोरा मिलनलाई बचाउने चुनौती उनलाई आइपरेको छ । मध्यराति परेको बज्रपातले सुनार परिवारमा सन्नाटा छाएको छ ।
वडाअध्यक्ष तामाङ सुनार परिवारलाई राहतका लागि कोसिसमा छन् । उनले जिल्ला सदरमुकामसम्म पुगेर राहतको पहल गरिरहेका छन् ।
लमजुङमा यो मनसुनमा बाढी पहिरोले ५ जनाको ज्यान गइसकेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस