काठमाडौं, २० असार ।
नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन भएका छन । काठमाडौंमा जारी महाधिवेशनबाट नेपाल पुनः अध्यक्षमा चयन भएका हुन ।
त्यस्तै महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन । सम्मानित नेतामा झलनाथ खनाल दोहोरिएका छन । बाँकी रहेका पदमा शुक्रबार विहानसम्म टुंगो लगाइने भएको छ । भुसालले अध्यक्ष पदमा दाबी गर्दै आए पनि अन्त्यमा नेपाल नेतृत्वमा जान उनी सहमत भएका थिए ।
असार १६ गतेदेखि सुरू भएको पार्टीको १०औं महाधिवेशन आज सकिँदैछ । ५ दिन चलेको महाधिवेशनले मुख्य तीन पदको छिनोफानो गरे पनि बाँकी पदाधिकारी र केन्द्रीय सदस्य छान्न भने सकेको छैन । भोलिसम्म सहमतिकै आधारमा पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्नेगरी नेतृत्वपंक्ति छलफलमा रहेको नेताहरूको भनाइ छ ।
एकीकृत समाजवादीले १०औं महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो । एक हजार आठ सय ४० प्रतिनिधि सहभागी भएको महाधिवेशनमा विभिन्न प्रतिवेदनहरू पनि पेस भएको थियो । प्रतिवेदनमाथि १२ समूह बनाएर छलफल गरिएको थियो । केन्द्रीय कमिटी चयन भएपछि महाधिवेशनको घोषणा पत्र सार्वजनिक गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस