after_navbar

नक्कली लाइसेन्स वितरणको आरोपमा यातायात प्रमुख सहित १५ जनाविरुद्ध मुद्दा 


असार २६, २०८१


काठमाडौ,२५ असार । नक्कली लाइसेन्स वितरण गरेको आरोपमा यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले सोमवार काठमाडौं जिल्ला अदालतमा सरकारी कर्मचारी सहित १५ जना विरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो ।

सीआईबीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बुटवल कार्यालयका तत्कालीन प्रमुख केशव अर्याल, तत्कालीन कम्प्युटर अपरेटरहरु लक्ष्मण पाण्डे, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे, पदमराज आचार्य र सहायक पाँचौं सुवास पौडेलविरुद्ध अभियोग दर्ता गरेको छ ।

त्यस्तै यातायात व्यवस्था कार्यालय कावासोती नवलपरासीका तत्कालीन कम्प्युटर अधिकृत रामकृष्ण श्रेष्ठ, यातायात व्यवस्था कार्यालय कास्कीका कम्प्युटर अपरेटर विनोद भण्डारी, यातायात व्यवस्था कार्यालय चितवनका सहायक चौंथो राजेश लम्साल, यातायात व्यवस्था कार्यालय झापाका कम्प्युटर अपरेटर विवेक भण्डारी र यातायात व्यवस्था कार्यालय धनुषाका कम्प्युटर अपरेटर दिलीपकुमार शाहविरुद्ध अभियोग दायर भएको छ ।

उनीहरूमाथि सवारी चालक अनुमतिपत्रको रेकर्ड इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा फर्जी विवरण राखेर ३०० बढी लाइसेन्स वितरण गरेको आरोप लगाइएको छ । १५ आरोपीमध्ये केशव अर्याल, पदमराज आचार्य, सुवास पौडेल, राजेश लम्साल, दिलिप कुमार साह र केशव पौडेल पक्राउ परिसकेका छन् ।

त्यस्तै फरार प्रतिवादी विजय चौधरी हाल झापा जिल्ला कारागारमा लागू औषध मुद्दामा कैदमा रहेको उनलाई उक्त कारागारबाट झिकाई नक्कली लाइसेन्स मुद्दाको बयान लिन अनुरोध गरिएको छ ।

प्रतिवादीहरु लक्ष्मण पाण्डे, राम कृष्ण श्रेष्ठ, विनोद भण्डारी, ज्ञान राज पाण्डे, नारायण प्रसाद पाण्डे, विवेक भण्डारी, प्रबिन भन्ने फानेश्वर सापकोटा र संदीप श्रेष्ठलाई अदालतबाट कानुन बमोजिम मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ बमोजिम पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="