दाङ, २६ असार ।
तुलसीपुर उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। सार्वजनिक सेवा तथा सुशासन समिति संयोजक धर्मराज ओलीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले विकासका नाममा आर्थिक विचलन नगर्न आग्रह गरेका छन्। उनीहरुले राजनैतिक पहुँचका आधारमा नभई जनआवश्यकता अनुसार बजेट विनियोजन गरी विकास निर्माणको काम गर्न सुझाएका छन्।
शिक्षा स्वास्थ्य खानेपानी बिजुलीबत्ती सडक पूर्वाधार अहिलेको प्रमुख आवश्यकता रहेको भन्दै स्थानीय सरकारले भूगोल र जनसङ्ख्याको आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका थिए। तुलसीपुर उपमहानगरपालिकाका १९ वटा वडामध्ये केही वडाहरूमा अझै पनि बिजुलीबत्ती सडक खानेपानीको पहुँच पुग्न नसकेको र ती स्थानीय सरकारले ध्यान दिन नसकेको भन्दै गुनासो गरेका थिए।स्थानीय सरकार नागरिकको समस्याप्रति जिम्मेवार बन्नुपर्ने भएपनि पूर्ण रुपमा त्यस्तो हुन नसकेको उनीहरूको भनाइ थियो। स्थानीय सरकारले सामाजिक सेवाहरूलाई प्रभावकारी बनाउन नसक्दा नागरिकहरूले सार्वजनिक सेवा सहज रुपमा प्राप्त गर्न नसकेको उनीहरूको भनाइ थियो।
कार्यक्रममा जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी जेष्ठ नागरिक नगर कमिटी सदस्य नेत्रमणि शर्माले सरकारले व्यवस्था गरे अनुसार सार्वजनिक सेवाहरू सहज रुपमा प्राप्त गर्न नसकेको गुनासो गरेका थिए। स्थानीय सरकारले तान्त्रिकता नदेखाउँदा यातायातका क्षेत्रमा स्वास्थ्यका क्षेत्रमा र वित्तीय क्षेत्रमा सहज सेवा प्राप्त गर्न नसकेको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा जिल्ली अधिकारीले शिक्षाको नाममा आर्थिक विचलन बढ्दै गएको बताएका थिए। सार्वजनिक शिक्षा प्रभावकारी नभएको भन्दै उनले यसतर्फ स्थानीय सरकारले ध्यान दिन जरुरी रहेको बताएका छन्। पछिल्लो समय विदेश अध्यक्ष छनोटको विषय विवादित बन्दै गएको भन्दै उनले विवेक खटाउने जिम्मा नगरले लिनुपर्ने र समावेशिताको आधारमा विदेश समिति गठन गर्नुपर्ने उनको सुझाव छ। उनले भूगोल र जनसङ्ख्याको आधारमा बजेट विनियोजन गरी काम गर्न स्थानीय सरकारलाई अनुरोध समेत गरेका छन्।
कार्यक्रममा इन्द्रजित चौधरीले विकासका नाममा नागरिकलाई शास्ती दिनु गलत भएको बताएका छन्। उनले असारे विकासको प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताएका छन्।
कार्यक्रममा वडा नम्बर १९ का पलबहादुर क्षेत्रीले अझै पनि वडामा बिजुलीबत्तीको पहुँच पुग्न नसकेको बताए। विकट बस्तीमा अझै पनि खानेपानी बिजुलीबत्ती र यातायातको समस्या हुँदा नागरिकले स्थानीय सरकार भएको अनुभूति गर्न नसकेको उनको भनाइ छ उनले सुगम क्षेत्रका लागि मात्र नभई विकट क्षेत्रका लागि पनि बजेट विनियोजन गरी काम गर्न अनुरोध गरेका छन्।
कार्यक्रममा पत्रकार एकराज भण्डारीले उपमहानगरको जिन्सी सामग्री खरिद प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन अनुरोध गरेका थिए।
वडा नम्बर ४ का वडा सदस्य मोहन थापा, तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत विद्यार्थी रोशनी थापा ,लालबहादुर केसी, लालबहादुर रावत लगायतले सार्वजनिक सेवाका विषयमा स्थानीय सरकार संवेदनशील र पारदर्शी बन्नुपर्ने बताएका थिए। सार्वजनिक सुनुवाई कार्यक्रम नागरिकको उपस्थितिमा हुनुपर्ने भएपनि त्यसो हुन नसकेको भन्दै गुनासो व्यक्त गरेका थिए।
त्यसैगरी इन्द्र जित चौधरी सन्दीप गौतम दीपक ओली अशोक शर्मा लगायतले युवा सहभागिता र जनसहभागितालाई स्थानीय सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका थिए। युवा लक्षित कार्यक्रमलाई स्थानीय सरकारले प्राथमिकता दिन नसकेको प्रति चिन्ता व्यक्त गरेका थिए।
कार्यक्रममा न्यायिक समिति सदस्य लालमती भण्डारीले न्यायिक समिति बारे उठेका प्रश्नहरूको जवाफ दिएकी थिइन्। यसैगरी वडा नम्बर ११ का वडा अध्यक्ष मानबहादुर रावत, खुसीराम थारुले जना आवश्यकता अनुसार सेवा प्रवाह गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताएका थिए। स्थानीय सरकारले शिक्षा स्वास्थ्य खानेपानी लगायत अन्य पूर्वाधारका क्षेत्रमा उल्लेखीय काम गर्दै आएको भन्दै आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका थिए। कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले पारदर्शी सुशासन मैत्री सेवा प्रवाहमा स्थानीय सरकार सधैं संवेदनशील रहेको बताएका थिए। स्थानीय सरकारको अनुभूत हुनेगरी सबै वडा सरकारले विकासी योजनाहरूलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो। उनले हरेक शाखा र वडाहरूलाई नागरिकमैत्री र गुनासोरहित सेवा प्रदान गर्न अनुरोध समेत गरेका छन्। तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रमको सहजीकरण साथीभाई मिडिया प्रालीले गरेको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस