प्युठान,२९ साउन। प्युठानमा अनाधिकृत रूपमा सञ्चालन गरिएको स्वास्थ्य क्लिनिक सिल गरिएको छ।फार्मेसी सञ्चालनका लागि इजाजत लिएको भएपनि सोही इजाजतबाट स्वास्थ्य क्लिनिक सञ्चालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय प्युठानले उक्त क्लिनिकमा सिल गरेको हो।
सरुमारानी गाउँपालिका वडा नं ४ बडाडामा दर्ता नगरी सञ्चालन गरिएको शोभा स्वास्थ्य क्लिनिकमा सिलबन्दी गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले जानकारी दिए।
सरूमारानी गाउँपालिका नेतृत्वको टोलीले अनुगमन गर्दा इजाजत बिना नै स्वास्थ्य क्लिनिक सञ्चालन गरेको पाइएको हो। फार्मेसीका लागि इजाजत लिइएको शोभा फार्मेसीसँगै एक वर्षदेखि शोभा स्वास्थ्य क्लिनिक सञ्चालन गरेका थिए ।
“फार्मेसी वैधानिक भए पनि मेडिकल, ल्याब, आकस्मिक कक्ष, एक्स–रे सेवा अवैध देखियो”, शर्माले भने, “दर्तापश्चात् सञ्चालन गर्न दिनेगरी सिलबन्दी गरेका छौँ ।” फार्मेसी सिलबन्दी गरेपछि बिरामी जाँच सेवाका लागि भन्दै अवैध रुपमा प्रचार गरेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग विकास कार्यालय र सरुमारानी गाउँपालिकाको संयुक्त अनुगमनबाट बडडाँडा बजार क्षेत्रमा अनुगमन गर्दा म्याद गुज्रेका सामग्रीहरू बिक्रीका लागि राखिएको पाइएको छ ।
चाउचाउ, कुरकुरे, बिस्कुट, खाने तेल, सस, भेनेगर, वियरलगायत रु २८ हजार बराबरका सामग्री नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । चाडपर्व सुरु हुन थालेसँगै बजार अनुगमन सुरु गरिएको छ । चाडपर्वमा अखाद्य वस्तुको प्रयोग हुनसक्ने भन्दै बजार अनुगमनलाई तीव्रता दिन थालिएको शर्माको भनाइ छ
प्रतिक्रिया दिनुहोस