दाङ ८ असोज । लुम्बिनी विकास कोषका पदाधिकारीहरूमाथि आक्रमण भएको छ। आन्दोलनरत निर्माण व्यवसायीले आक्रमण गरेपछि विकास कोषका सदस्य- सचिव सानु राजा शाक्य र कोषाध्यक्ष ढुण्डिराज भट्टराई सामान्य घाइते भएका छन्।
मंगलबार राष्ट्रिय सभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका पदाधिकारीसँग कोषका पदाधिकारीको महिलवार नजिक फाइभ इलेमेन्ट होटलमा छलफलपछि बाहिरिने क्रममा निर्माण व्यवसायीको एक समूहले कोषका पदाधिकारीमाथि आक्रमण गरेको हो ।
लुम्बिनी विकास कोषका पदाधिकारी बैठकस्थलबाट बाहिरिँदै गर्दा उनीहरूमाथि ढोकामा हुल हुज्जल गरिएको र कोषका सदस्य–सचिव शाक्य र कोषाध्यक्ष भट्टराईमाथि आक्रमण गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।
२० जनाको समूहमा रहेका आन्दोलनकारीले आक्रमण गर्दा त्यहाँ उपस्थित सांसद र कोषका कर्मचारीले उनीहरूलाई जोगाएका थिए । सदस्य–सचिव शाक्य र कोषाध्यक्ष भट्टराईलाई सामान्य चोटपटक लागेको छ ।
आन्दोलनरत निर्माण व्यवसायीको माग सम्बोधन गरी समस्या समाधान गर्न लागिपरेका बेला हुलहुज्जतसहित अपमानजनक रूपमा आक्रमण गर्नु दुःखद भएको कोषाध्यक्ष भट्टराईले बताए । उनले आफूमाथि भएको आक्रमणपछि सुरक्षाको माग पनि गरेका छन् ।
राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाका अगाडि आफूहरुमाथि आक्रमण भएको सदस्य–सचिव शाक्यले बताए । बैठकमा लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा र राष्ट्रियसभाका सदस्यहरू सहभागी थिए ।
लुम्बिनीमा निर्माणसम्बन्धी काम गरिरहेका चार वटा जेभी आफूहरूले काम गरेबापत रनिङ बिलको करिब ४९ करोड भुक्तानी पाउनुपर्ने माग गर्दै गत शुक्रबारदेखि आन्दोलित छन् ।
बैठक स्थलमा मजदूरहरू आक्रोशित भई धकेलाधकेलको स्थित आएको लामा अपेक्स कमलजित जेभीका साइट इन्चार्ज अनिल शर्मा चिलवालले बताए । दोषीमाथि कडा कारबाहीको माग गर्दै कोषका पदाधिकारीको टोली अहिले जिल्ला प्रशासन कार्यालय पुगेको छ
प्रतिक्रिया दिनुहोस