दाङ, २ कार्तिक । दाङको तुलसीपुरमा सर्प महोत्सव सञ्चालन हुने भएको छ। जिल्लामा पाइने विषालु र अविषालु सर्पहरूको पहिचान र नागरिकलाई सचेत गराउन कार्तिक ८, ९, र १० गते राप्ती शान्ति उद्यानमा महोत्सवको आयोजना हुँदैछ। “हामी संरक्षणका लागि काम गर्छौं” संस्थाले तीनदिने कार्यक्रम आयोजना गर्न लागेको हो।
सर्प उद्धारकर्ता प्रभात भण्डारीका अनुसार महोत्सवले मानव र वन्यजन्तु बीचको सम्बन्धमा सचेतना फैलाउनुका साथै सर्पको महत्त्वलाई बुझाउन मद्दत पुर्याउनेछ। महोत्सवमा जिल्लाका विषालु र अविषालु सर्पहरूको प्रदर्शनी गरिनेछ। साथै, सर्पले टोकेमा के गर्ने र के नगर्ने भन्ने जानकारीसमेत प्रदान गरिनेछ।
कार्यक्रममा सर्प उद्धारमा संलग्न सर्पविज्ञहरूले सर्प पहिचानसम्बन्धी प्रशिक्षण दिनेछन्। यस अवसरमा तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर र दंगिशरण गाउँपालिकाका विद्यालयहरूका कक्षा ८ देखि माथिका विद्यार्थीहरू तथा स्थानीय जनप्रतिनिधिहरूलाई सर्पको पहिचान सम्बन्धी जानकारी गराइनेछ।
आयोजक संस्थाका अध्यक्ष सन्दिप वलीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उपाध्यक्ष बसन्त सुवेदीले कार्यक्रमको उद्देश्यबारे जानकारी दिएका थिए भने सचिव गरिमा डाँगीले सहजीकरण गरेकी थिइन्। महोत्सवबाट करिब दुई लाख स्थानीय बासिन्दा लाभान्वित हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस