धादिङ,२३ मंसिर । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका(२ स्थित कृष्णभीरबाट आज (आइतबार) बिहान त्रिशूली नदीमा ग्यास बुलेट खस्दा बेपत्ता चालक र सहचालकको खोजीमा सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ।
चितवनबाट काठमाडौँतर्फ जादै गरेको एनएल-०२एल-३९०७ नम्बरको भारतीय ग्यास बुलेट अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको हो।
जसमा परी चालक भारतको बरुनी निवासी अन्दाजी ४५ वर्षीय पंकज कुमार र सहचालक बेपत्ता छन्। सहचालकको भने परिचय खुलिसकेको छैन।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अश्विनकुमार गुरुङको नेतृत्वमा गोताखोरसहित विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस