दाङ,३ फागुन । प्रहरीले अवैध हतियार सहित बारुद बरामद गरेको छ। तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ४ मूलकोट निवासी ४५ वर्षीय भूबहादुर पुनको घरबाट प्रहरीले अवैध हतियार र बारुद बरामद गरेको हो। पुनको घरमा अवैध हतियार रहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरले छापा मारेको थियो।
शनिबार साँझ ६ बजे इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक विनोद राज खत्रीको नेतृत्वमा खटिएको टोलीले पुनको घरको माथिल्लो तलामा लुकाइ राखिएको १ नाले २ वटा भरुवा बन्दुक, करिब २५० ग्राम बारुद, २४ वटा सिसाको गोली, १४ वटा फलामका ब्यारीङ र गोली बनाउन प्रयोग गरिने करिब ३ केजी सिसा बरामद गरेको हो।
प्रहरीका अनुसार छापामार्ने क्रममा पुन घरमा उपस्थित नभएकाले उनी फरार रहेको अनुमान गरिएको छ। घरमा अन्य परिवारका सदस्यहरू पनि नरहेको प्रहरीले जनाएको छ।
हाल बरामद हतियार तथा सामग्रीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। पुनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस