दाङ,१० जेठ । दाङको तुलसीपुरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। थर्ड आई नेपालको आयोजनामा , नेपाल सोसाइटी तुलसीपुर शाखाको प्राविधिक सहयोग र फ्रेन्ड फिटनेस एन्ड सप्लायर्सको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा २३ जनाले रगतदान गरेका छन्। थर्ड आई नेपाल दाङका अध्यक्ष बसन्त गिरीका अनुसार संस्थाले नियमित रूपमा रक्तदान जस्ता सामाजिकआर्थिक कार्यक्रम गर्दै आएको छ।
“यसअघि पनि थर्ड आई नेपालले विभिन्न विद्यालय र क्याम्पसहरूमा पुगेर रक्त समूह परीक्षण तथा रक्तदान कार्यक्रम सञ्चालन गरिसकेको छ। उनले भने-” यस प्रकारका कार्यक्रमले समुदायमा रक्तदानप्रति चेतना फैलाउने र आपत्कालीन अवस्थामा रगतको सहज उपलब्धताका लागि टेवा पुग्ने विश्वास लिएका छौं।”
कार्यक्रमको अवसरमा संस्थाका प्रतिनिधिहरूले रक्तदानको आवश्यकता र महत्वका बारेमा जानकारी गराउँदै स्वेच्छिक रक्तदान गर्न सबैमा अपिल गरेका थिए।
रक्तदान मानव जीवन रक्षाको लागि अति आवश्यक कार्य हो। समयमै रगत नपाएर धेरै बिरामीले ज्यान गुमाउनु परिरहेको अवस्थामा यस्तो कार्यक्रमले अमूल्य जीवन जोगाउन योगदान पुग्ने आयोजकहरूले बताएका छन्।
थर्ड आई नेपालले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया दिनुहोस