after_navbar

कार्यकर्तालाई ओलीको निर्देशन: जेठ १५ मा काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ


जेठ १२, २०८२


काठमाडौं,११ जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते राजावादीहरूले काठमाडौंमा गर्ने भनिएको आन्दोलनलाई पार्टीले सफल हुन नदिने चेतावनी दिएका छन्। आइतबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय वडाध्यक्षहरूको भेलामा बोल्दै उनले उक्त चेतावनी दिएका हुन्।

ओलीले राजावादीहरू देशमा आतंक फैलाउने प्रयासमा रहेको आरोप लगाउँदै भने, “यी तथाकथित राजावादीहरू केही पनि होइनन्, खाओवादी हुन्। सरकार र जनता अलिकति मौन बसेको मौका देखेर अनावश्यक फुर्तिफार्ती देखाएका छन्। एमाले मैदानमा उत्रिएपछि यिनीहरू कता जान्छन्, हेर्नुस्।”

उनले ‘हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो’ भन्ने नारा लगाउनेहरूलाई समेत कटाक्ष गरे। “वीरेन्द्र मरेको बेला तिनीहरू कहाँ थिए? प्राणभन्दा प्यारो हो भने त्यति ठूलो हत्या हुँदा किन बाँचिरहे? किन मरेनन्?” भन्दै ओलीले राजावादीहरुलाइ ढोंगीको संज्ञा दिए।

ओलीले आन्दोलनको नाममा साना स्वार्थ लिई राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको उल्लेख गर्दै भने, “यीहरू कुनै उद्देश्यका लागि होइन, व्यक्तिगत स्वार्थका लागि सडकमा छन्। अब एमाले चुप लाग्दैन।”

प्रधानमन्त्री ओलीले एमाले नेता–कार्यकर्ताहरूलाई १५ गतेको लागि उच्च सतर्कतासाथ तयार रहन निर्देशनसमेत दिए। उनले भने, “भोलि वडाध्यक्षहरूको प्रशिक्षण सकिनेबित्तिकै तयारी थाल्नुस्। १५ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ।”

उनले थपे, “पार्टीले निर्देशन दिन्छ, त्यसपछि के गर्ने भन्ने ठ्याक्कै थाहा हुन्छ। आन्दोलनमा प्रोटोकल हुँदैन, सबै समान हुन्छन्। अगाडि बढ्नुस्, कुनै संस्था अगाडि, कुनै पछि भन्ने छैन। काठमाडौं हाम्रो नियन्त्रणमा हुनु आवश्यक छ।”

ओलीले पार्टी पंक्तिलाई संगठित र अनुशासित तरिकाले अगाडि बढ्न आह्वान गर्दै अन्त्यमा भने, “१५ गते कसले थाम्छ? कसले रोक्छ? त्यो हेर्न बाँकी छ। हामी तयार भएर अगाडि बढौं।”

प्रतिक्रिया दिनुहोस

data-href="