काठमाडौँ,१२ भदौ । पर्साको वीरगञ्जमा हैजा संक्रमण बढ्दै गएको छ। अहिलेसम्म एक सय ३६ जनामा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।
जनस्वास्थ्य अधिकृत धनी सिंहका अनुसार हैजाबाट उपचार गराइरहेका बिरामीमध्ये ५६ जना डिस्चार्ज भइसकेका छन् भने २८३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
गएराति मात्रै ११४ जना नयाँ झाडापखालाका बिरामी अस्पताल भर्ना भएका थिए। हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा पाँच सय ३९ जना झाडापखालाका बिरामी भर्ना भएकोमा एक सय ३६ जनामा हैजा पुष्टि भएको हो। झाडापखालाका २५७ जना उपचारपछि घर फर्किएको सिंहले जानकारी दिए।
हैजा नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तह सक्रिय रहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ। पानीका स्रोतको शुद्धीकरण, जनचेतनामूलक कार्यक्रम र औषधीसहित दक्ष स्वास्थ्यकर्मीको परिचालन गरी नियन्त्रणका काम अघि बढाइएको छ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जोखिमयुक्त क्षेत्रमा संघीय, प्रदेश र स्थानीय सरकारसँगै विश्व स्वास्थ्य सङ्गठन (WHO) को टोली खटिएको छ। मन्त्रालयले यसलाई नियन्त्रणउन्मुख अवस्थामा ल्याउन सकिने दाबी गरेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस