दाङ, २६ मंसिर । दाङको राप्ती गाउँपालिका–२ पुन्यपुरस्थित फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा शुक्रबार बिहानदेखि लागिरहेको आगलागी अझै पनि नियन्त्रणमा आउन सकेको छैन। आगलागीले केन्द्रभित्रको ट्रस्ट भवन, ठूला–साना मेसिन, टायल तथा इन्टरलक पूर्णरूपमा जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार करोडौँको क्षति भएको छ।
आगो नियन्त्रणका लागि गढवाबाट आएको दमकल, राप्ती गाउँपालिकाको मिनी दमकल, डोजर, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयवासीलाई खटाइएको छ। सबै पक्ष संयुक्त रूपमा आगो नियन्त्रणमा जुटिरहेका छन्।
आगो विद्युत् सर्टका कारण लागेको हो वा कसैले नियोजित रूपमा आगो लगाएको हो भन्नेबारे यकिन कारण भने खुलेको छैन। इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले घटनाको कारणबारे अनुसन्धान जारी रहेको बताए।
वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरीले प्रहरीलाई खबर गरेपछि आगलागीबारे जानकारी भएको बताए। “फोहर व्यवस्थापनका लागि निर्माण गरिएको घर जलेको छ, विस्तृत कारण अनुसन्धानपछि मात्र थाहा हुन्छ,” निरीक्षक ऐरीले बताए।
उक्त केन्द्रमा राप्ती गाउँपालिकाले फोहर व्यवस्थापन गर्दै आएको थियो। तर पछिल्ला दिनमा फोहर व्यवस्थापनको तरिकाप्रति स्थानीयवासी असन्तुष्ट रहेका थिए। व्यवस्थापन व्यवस्थित नभएको भन्दै स्थानीयले अवरोध गर्दै आएपछि विवाद चुलिँदो थियो। केही दिनअघि मात्र वार्ता मार्फत समस्या समाधानतर्फ सहमतिका प्रयास सुरु भएका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस