after_navbar

आयोगको कल सेन्टरमा १ हजारबढी जिज्ञासा


५ घण्टा अगाडि


दाङ,१९ माघ । निर्वाचन आयोगले माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको कल सेन्टरमा माघ १७ गतेसम्म चुनावसम्बन्धी १ हजार ६ सय ७७ वटा जिज्ञासा प्राप्त भएका छन्, जसमा अधिकांश मतदाता नामावलीसम्बन्धी रहेका छन्।

ad

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्राप्त जिज्ञासामध्ये ९०६ वटा मतदाता नामावली, १३५ वटा निर्वाचन आचारसंहिता, ६१ वटा मतदाता शिक्षा र ५७५ वटा अन्य विषयसँग सम्बन्धित छन्।

प्रवक्ता भट्टराईले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी फैलाइने मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्तिको निगरानी बढाइएको जानकारी दिए।

यस्ता गैरकानुनी कार्यमा संलग्न व्यक्ति तथा संस्थालाई नियामक निकायसँग समन्वय गरी कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको उनले बताए ।

आयोगका अनुसार हानिकारक सूचना उत्पादन वा सम्प्रेषण गर्ने १२० विषयवस्तु उत्पादक वा सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाइएको छ।

त्यस्तै, ६ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणमा, १५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ अनुसार प्रेस काउन्सिल नेपालमा र ३४ वटालाई निर्वाचन आचारसंहिता, २०८२ अनुसार केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको छ।

यसैबीच, निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगअन्तर्गतको मतदाता शिक्षा एकाइले हालसम्म १५८ सामग्री स्वीकृत गरी आयोगको आधिकारिक फेसबुक, एक्स, टिकटक र युट्युबमार्फत सार्वजनिक गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="