काठमाडौ,११जेठ। साउदी अरबमा नेपालीसहित आप्रवासी श्रमिक गम्भीर जोखिममा रहेको एक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ। राष्ट्रिय तेल कम्पनी साउदीको आरम्कोका परियोजनामा कार्यरत श्रमिकहरु उच्च जोखिममा रहेको पाइएको हो।
लण्डनस्थित मानवअधिकारसम्बन्धी संस्था ‘फेयर स्क्वायर’ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार आरम्को परियोजनामा कार्यरत विदेशी श्रमिकलाई अत्यधिक गर्मीमा लामो समय काम गराइने, असुरक्षित आवासमा राखिने, पर्याप्त आराम र पोषणयुक्त खाना नदिने तथा दुर्घटना वा मृत्यु हुँदा समेत उचित क्षतिपूर्ति नपाइने अवस्था रहेको उल्लेख गरिएको छ।
आम्दानीका आधारमा विश्वकै चौथो ठूलो कम्पनी मानिने आरम्कोसँग विश्वकै दोस्रो ठूलो प्रमाणित कच्चा तेल भण्डार रहेको छ। कम्पनीमा साउदी सरकार र सार्वजनिक लगानी कोषको करिब ९८ प्रतिशत स्वामित्व रहेको र तेल बिक्रीबाट प्राप्त आम्दानी साउदी सरकारको कुल राजस्वको करिब दुई तिहाइ हिस्सा हुने बताइएको छ।
‘द वाल स्ट्रिट जर्नल’का अनुसार आरम्कोसँग साउदी अरबभित्र मात्रै १० हजारभन्दा बढी आपूर्तिकर्ता कम्पनी छन्। ती कम्पनीमार्फत विभिन्न उपठेकेदारबाट श्रमिक भर्ना गरिने भएकाले श्रमिकमाथि हुने शोषणमा जिम्मेवारी निर्धारण गर्न कठिन हुने प्रतिवेदनमा उल्लेख छ। यी परियोजनामा साउदीको निर्माण क्षेत्रमा कार्यरत नेपाली श्रमिकको करिब २० प्रतिशत संलग्न रहेको जनाइएको छ।
प्रतिवेदनअनुसार आरम्कोका विभिन्न परियोजनामा कार्यरत श्रमिकले ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा दैनिक १२ देखि १४ घण्टासम्म काम गर्नुपर्ने अवस्था छ। अत्यधिक गर्मीका कारण धेरै श्रमिक कार्यस्थलमै बेहोस हुने गरेका उल्लेख गरिएको छ।
२१ अर्ब अमेरिकी डलर लागतको ‘मार्जन इन्क्रिमेन्ट’ परियोजनामा काम गरेका श्रमिकका अनुभवअनुसार जुन–जुलाई महिनामा तापक्रम ५० डिग्रीभन्दा माथि पुग्ने र पानीको अभावका कारण श्रमिकहरू बारम्बार बेहोस हुने गरेका छन्।
जिजानस्थित परियोजनामा कार्यरत अर्का नेपाली श्रमिकका अनुसार कार्यस्थलमै बेहोस भएका कामदारलाई सामान्य उपचारपछि एक्लै कोठामा छाडिने गरिएको छ। सुरक्षा मापदण्डअनुसार कामबीच आराम गर्न भनिए पनि व्यवहारमा त्यसको पालना नहुने गुनासो गरिएको छ।
लामो समय अत्यधिक गर्मीमा काम गर्नुपर्दा स्वास्थ्यमा गम्भीर असर परेको र केही श्रमिकमा मिर्गौला रोगसमेत देखिएको प्रतिवेदनमा उल्लेख छ।
श्रमिकहरूको आवास अवस्था पनि दयनीय रहेको बताइएको छ। धेरैलाई कन्टेनरमा कोचिएर बस्न बाध्य पारिएको, वर्षा हुँदा करेन्ट लाग्ने जोखिम, अस्वच्छ शौचालय र गुणस्तरहीन खानाको समस्या रहेको उनीहरूको गुनासो छ।
प्रतिवेदनले सबैभन्दा गम्भीर समस्या कामकै क्रममा मृत्यु वा गम्भीर बिरामी पर्दा श्रमिकका परिवारले न्याय र क्षतिपूर्ति नपाउनु रहेको औँल्याएको छ। अध्ययन गरिएका ६ घटनामध्ये एक परिवारले मात्र उचित क्षतिपूर्ति पाएको उल्लेख गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस