दाङ,२३ साउन । कपिलवस्तु नगरपालिकाका पूर्व नगरप्रमुख किरण सिंह ढेकरी जंगलबाट सम्पर्कविहीन भएका छन्। तौलिहवा-गोरुसिंगे सडक खण्डअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित ढेकरी जंगलबाट उनी शुक्रबारदेखि हराएका हुन्।
व्यावसायिक कृषि फर्म खोल्ने तयारीका सिलसिलामा त्यहाँ पुगेका सिंहले शुक्रबार दिउँसो साढे ३ बजेतिर फर्मका कामदारलाई फोन गरी जंगलमा बाटो भुलेर हराएको जानकारी गराएका थिए। लगत्तै कामदारहरूले साढे ५ बजेसम्म खोजी गर्दा पनि फेला नपरेपछि मात्र प्रहरीलाई खबर गरिएको थियो।
घटनाबारे जानकारी पाएपछि कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष जाहिद खानले सिंहलाई फोन गर्दा उनले आफू जंगलमा हराएको र खोजी गरिदिन आग्रह गरेका थिए। वडाध्यक्ष खानले तुरुन्तै इलाका प्रहरी कार्यालय गोरुसिंगेमा यसबारे जानकारी गराएका हुन्।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार खबर प्राप्त हुनासाथ प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको टोलीले शुक्रबार राति २ बजेसम्म खोजी गरेको थियो। रातभर खोजतलास गर्दा उनी चढेको लुप्र ०१-०१३प ७८७९ नम्बरको मोटरसाइकल जंगलमा फेला परे पनि सिंहको भने अझै पत्तो लाग्न सकेको छैन।
शनिबार बिहानैदेखि सुरक्षा निकाय र स्थानीयको संयुक्त टोलीले पुनः घतलास तथा खोजी कार्यलाई तीव्र बनाएको छ।
सिंह २०५४ सालमा नगर उपप्रमुख र २०७४ को स्थानीय तह निर्वाचनमा कपिलवस्तु नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका थिए।
प्रतिक्रिया दिनुहोस