after_navbar

दुर्घटना न्यूनीकरणका लागि सडक डिभाइडर


२ घण्टा अगाडि


दाङ,८ भदौ। सवारी दुर्घटनाको जोखिम बढ्दै गएपछि तुलसीपुरमा डिभाइडर राखिएको छ । पछिल्लो समय सवारी दुर्घटनाको ‘रेड जोन’ बनेको मदन आश्रित चोकदेखि गुम्राह चोकसम्मको सडकखण्डमा दुर्घटना न्यूनीकरणका लागि डिभाइडर राखिएको हो ।

एक साताभित्रै दुई जनाको ज्यान गएको तथा दैनिकजसो दुर्घटना हुने गरेको उक्त सडकखण्डमा दुर्घटना न्यूनीकरण र सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो। तुलसीपुर उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय तुलसीपुर, स्थानीय सरकार र राप्ती बबई क्याम्पसको सहकार्यमा अभियान सञ्चालन गरिएको हो।

अभियानअन्तर्गत पहिलो चरणमा नमुनाका रूपमा करिब १ लाख ६० हजार रुपैयाँ बराबरका डिभाइडर राखिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले जानकारी दिए।

डिभाइडर राख्ने कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुली, पूर्व जनप्रतिनिधि तथा सामाजिक अभियन्ता नवराज लामिछाने, संघका पूर्व अध्यक्ष विमल रिजाललगायतको सहभागिता थियो।

कार्यक्रममा सहभागीहरूले सडक दुर्घटना न्यूनीकरणका लागि सुरु गरिएको अभियान प्रभावकारी हुने बताएका छन्। उनीहरूले सडक सुरक्षाका लागि प्रहरी, स्थानीय सरकार, निजी क्षेत्र, शैक्षिक संस्था तथा नागरिकबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

अभियानलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै दुर्घटना सम्भावित अन्य क्षेत्रमा समेत सडक सुरक्षा तथा जनचेतनामूलक कार्यक्रम विस्तार गर्नेमा जोड दिइएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="