दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनका लागि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन्।
संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजनसहितको सिफारिस गरिएको हो। सिफारिसअनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट तीन जना नयाँ मन्त्री थपिने भएका छन्।
नयाँ नियुक्त हुनेमा दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ। उनीहरूको शपथ मंगलबार दिउँसो ३ः२५ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने कार्यक्रम तय गरिएको छ।
मन्त्रिपरिषद् पुनर्गठनसँगै अन्य मन्त्रीहरूको जिम्मेवारीसमेत हेरफेर गरिएको छ। तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास, सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने सिफारिस गरिएको छ।
यसअघि स्वास्थ्य मन्त्रालय सम्हालेका घिमिरेलाई सामाजिक विकास तथा कृषि मन्त्रालयको जिम्मेवारीमा रहेका चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयमा सारिएको हो। यस्तै, सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएका पाण्डेयलाई नयाँ जिम्मेवारी दिइएको छ।
सरकारमा नेकपा (एमाले) बाट मुख्यमन्त्रीसहित चार, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट तीन र जनता समाजवादी पार्टी, नेपालबाट दुई जना मन्त्री रहने गरी भएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको हो।
प्रतिक्रिया दिनुहोस