काठमाडौ।जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस केन्द्रित राजनीतिक शक्तिहरू एकजुट भएर अधिकार प्राप्तिको संघर्षमा उत्रनुपर्ने बताएका छन्।
जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै यादवले वर्तमान संविधान, संघीय प्रणाली र राज्यको समावेशी चरित्रप्रति असन्तुष्टि जनाए। उनले संविधान निर्माण प्रक्रियामाथि प्रश्न उठाउँदै संविधान सभाले नभई सीमित व्यक्तिले संविधान लेखेर जनतामाथि थोपरेको दाबी गरे।
मधेस आन्दोलनका क्रममा वीरगन्जलगायतका स्थानमा आन्दोलनकारीको हत्या भएको र गोलीको बलमा संविधान घोषणा गरिएको आरोप पनि उनले लगाए। उनले मधेसको भूगोल आठ जिल्लामा मात्र सीमित नरहेको दाबी गर्दै मेचीदेखि महाकालीसम्म मधेसको भूगोल रहेको बताए।
यादवले प्रदेशहरूलाई स्रोतसाधन, न्यायपालिका, प्रहरी, प्रशासन र विधायिकी अधिकारसहित पूर्ण स्वायत्त बनाउनुपर्ने बताए। साथै जनसंख्याका आधारमा राज्यका सबै निकायमा प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा जोड दिए।
बहुभाषिक र बहुसांस्कृतिक देशमा सबै समुदायका भाषा र पहिचानलाई राज्यले मान्यता दिनुपर्ने उनको भनाइ थियो। मधेसका अधिकार प्राप्तिका लागि मधेस केन्द्रित राजनीतिक शक्तिहरूबीच एकता आवश्यक रहेको भन्दै उनले पुनः संघर्षको तयारी गर्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस