दाङ टेक्निकलमा नवप्रवेशी विद्यार्थीको स्वागत

   माघ १७, २०८२       admin

दाङ,१६ माघ ।दाङ टेक्निकल इन्स्टिच्यूट प्रा.लि. (एच.ए. तथा ल्याब टेक्निसियन कलेज), तुलसीपुर–६, दाङले नवप्रवेशी विद्यार्थीहरूको स्वागत कार्यक्रम सम्पन्न गरेको छ।


कलेजका अध्यक्ष तथा प्रमुख दोर्ण बहादुर वलिको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव राज पार्धेको प्रमुख आतिथ्यता एवं कलेजका सञ्चालक विमल रिजालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो।

प्रमुख अतिथि केशव राज पार्धेले जीवन निरन्तर गतिशील रहने भएकाले समयअनुसार आफूलाई परिवर्तनशील बनाउनु आवश्यक रहेको बताए। उनले उज्ज्वल भविष्य निर्माणका लागि उक्त कलेज छनोट गर्नु सही निर्णय भएको उल्लेख गर्दै कलेजले हालसम्म हजारौँ स्वास्थ्यकर्मी उत्पादन गरिसकेको जानकारी दिएका थिए।

कार्यक्रममा बोल्दै सामान्य चिकित्सा प्रथम वर्षका विद्यार्थी लाल बहादुर पुनले अनुशासन, जोस र जाँगरका साथ उज्ज्वल भविष्य निर्माणका लागि उक्त कलेज रोजेको बताएका थिए। उनले कलेजमा उपलब्ध अवसरको सदुपयोग गर्दै जिम्मेवार नागरिकका रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

त्यस्तै, प्रथम वर्षकै विद्यार्थी लक्ष्मी वलिले स्वास्थ्य क्षेत्रमा भविष्य सुनिश्चित गर्न यो विषय छनोट गरेको बताउँदै कलेजको शैक्षिक वातावरण, सहयोगी व्यवहार तथा व्यवस्थित छात्रावास व्यवस्थापनप्रति सन्तुष्टि व्यक्त गरेकी थिइन्।

पत्रकार दिपक बोहराले नवप्रवेशीलाई स्वागत र अध्ययन पूरा गरेका विद्यार्थीलाई विदाइ गर्ने संस्कार सकारात्मक रहेको उल्लेख गरेका थिए। उनले स्वास्थ्य क्षेत्रमा प्रवेश गर्ने विद्यार्थीबाट जनताले गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गर्दै दक्ष जनशक्ति विदेश पलायन हुने प्रवृत्ति न्यूनीकरण गर्न स्व–रोजगारमूलक शिक्षामा जोड दिनुपर्ने बताएका थिए।

विशिष्ट अतिथि विमल रिजालले दाङ टेक्निकल इन्स्टिच्यूटको वास्तविक गहना विद्यार्थीहरू नै भएको उल्लेख गर्दै उनीहरूको क्षमता विकासमा कलेज सदैव प्रतिबद्ध रहने बताएका थिए।

कार्यक्रमका सभापति दोर्ण बहादुर वलिले अनुशासनबिना गुणस्तरीय शिक्षा सम्भव नहुने उल्लेख गर्दै वि.सं. २०५४ सालदेखि कलेजले अनुशासनयुक्त र दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्दै आएको जानकारी दिए।

कार्यक्रममा विद्यार्थीहरूले स्वागत गीत, गजल तथा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन कलेजका प्रधानाध्यापक अशोक कुमार यादव र विद्यार्थी चेतना वलिले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा कलेजका सञ्चालकहरू हेमराज बस्नेत, सञ्जीवन रिजाल, प्रा. डा. सन्दीपन न्यौपाने, हेमराज बुढा, सुप्रभा दाहाल, हिमाल खड्का, विशाल न्यौपाने, सन्दिप कुमार शाह तथा पत्रकारहरू दर्शन आचार्य, दिपक बोहरा, टेकराज भण्डारीलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हाम्रो पहुँच सहकारी १८औँ वार्षिकोत्सव

   माघ १७, २०८२       admin

दाङ,१६ माघ । हाम्रो पहुँच बहुदेश्यीय सहकारी संस्थाको १८औँ वार्षिकोत्सव विविध कार्यक्रमका बीच सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले सहकारी संस्था आफ्नो दर्शन, मान्यता र सिद्धान्तअनुसार अघि बढेको उल्लेख गर्दै हाम्रो पहुँच सहकारीले शैक्षिक, उद्यमशीलता, व्यवसायीकरणलगायत आधा दर्जनभन्दा बढी क्षेत्रमा उल्लेखनीय काम गरेको बताए। उनले संस्थाले ३९ करोड रुपैयाँभन्दा बढीको वित्तीय कारोबार गर्दै १ सय १२ जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको जानकारी दिए।

पोख्रेलले समाजवादउन्मुख आर्थिक व्यवस्था र अर्थतन्त्रका तीन खम्बालाई मजबुत बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। सबै क्षेत्रमा सहकार्य र समावेशीतामार्फत आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय क्षेत्रमा योगदान पुर्‍याउनु सहकारीको मूल उद्देश्य भएको भन्दै हाम्रो पहुँच सहकारीले त्यसअनुसार काम गर्दै आएको उनले बताए।

उनले सामाजिक एकता र संकटमोचनका लागि सहकारी ऐतिहासिक रूपमा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै बजारका लागि उत्पादन गर्ने संस्कृतिको विकास आवश्यक रहेको बताए।

नेपालका कृषि क्षेत्रमा प्रविधिको प्रयोग गरी व्यवसायी बन्न जरुरी रहेको भन्दै केही व्यक्तिले निजी लाभका लागि सहकारी दुरुपयोग गर्दा क्षेत्रप्रति नकारात्मक आरोप लाग्ने गरेको उनको भनाइ थियो। हाल करिब ३० सहकारी संकटग्रस्त रहेको उल्लेख गर्दै नीतिगत रूपमा सञ्चालन हुने सहकारी उदाहरणीय बन्न सक्ने बताए।

कार्यक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थी पूर्णिमा भण्डारीले शैक्षिक संस्थाबाट प्राप्त अवसर र क्षमताले विद्यार्थीको भविष्य निर्माणमा सहयोग पुगेको अनुभव सुनाइन्।

प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डांगीले विद्यालयहरूले बालबालिकाको सर्वाङ्गीण विकासका लागि गरेका प्रयासका कारण उत्कृष्ट नतिजा हासिल हुँदै आएको बताए।

नेपाल आयल निगम तुलसीपुरका प्रमुख विनोद बस्नेतले संस्थाले आर्थिक तथा वित्तीय क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सहकारीले स्थानीय अर्थतन्त्र सुदृढ बनाउन खेलेको भूमिकाको चर्चा गरेका थिए।

कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय रहेका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो। कार्यक्रमको सहजीकरण हाम्रो पहुँच सेकेन्डरी स्कुलका प्रधानाध्यापक डिआर भण्डारीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सहिदहरूको बलिदानले देश ऐतिहासिक मोडमा पुगेको छ : प्रधानमन्त्री कार्की

   माघ १७, २०८२       admin

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन् ।

सहिद दिवसका अवसरमा शुक्रबार जारी गरिएको शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन् ।


“सहिदहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ। अब कुनै आमाको काख फेरि रित्तिन नपरोस्। न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त वीर योद्धाहरूलाई पनि नमन गर्दछु।”- सन्देशमा भनिएको छ।

प्रधानमन्त्री कार्कीले शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माण गर्नु प्रत्येक शासकको दायित्व भएको उल्लेख गर्दै सहिदहरूको सपना साकार पार्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निर्वाचनका लागि १९ अर्ब १५ करोडको स्रोत सहमति: ६ अर्ब ३६ करोड निकासा

   माघ १७, २०८२       admin

काठमाडौं,१६ माघ । अर्थ मन्त्रालयले निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ। मन्त्रालयको तथ्यांकअनुसार हालसम्म ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको छ।

अर्थ मन्त्रालयका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगलाई १८ कात्तिकमा ४ अर्ब ९६ करोड रुपैयाँको स्रोत सहमति दिइएको थियो।

त्यसपछि २० पुसमा थप १ अर्ब ७७ करोड ९० हजार रुपैयाँको स्रोत सहमति प्रदान गरिएको छ। यसरी निर्वाचन आयोगलाई कूल ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँ बराबरको स्रोत सहमति दिइएको मन्त्रालयले जनाएको छ।

निर्वाचन आयोगलाई १२ मंसिरमा ४ करोड ३१ लाख रुपैयाँ निकासा गरिएको थियो भने हालसम्म आयोगलाई मात्र ६ अर्ब ३१ करोड रुपैयाँ निकासा भइसकेको तथ्यांकमा उल्लेख छ।

निर्वाचन प्रयोजनका लागि सुरक्षा निकायलाई पनि ठूलो मात्रामा बजेट व्यवस्था गरिएको छ। राष्ट्रिय अनुसन्धान विभागका लागि १३ कात्तिकमा २ करोड ८० लाख रुपैयाँको स्रोत सहमति दिइएको छ। यस्तै, नेपाली सेनालाई उपकरण खरिदका लागि २८ मंसिरमा ४ करोड ४२ लाख ५० हजार रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको थियो।

गृह मन्त्रालय र मातहतका निकायलाई १० अर्ब ३९ करोड रुपैयाँ बराबरको स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ। साथै, २० पुसमा नेपाली सेनालाई थप १ अर्ब ९४ करोड रुपैयाँ बराबरको स्रोत सहमति उपलब्ध गराइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज सहिद दिवस

   माघ १७, २०८२       admin

काठमाडौं,१६ माघ । आज देशभर सहिद दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। देशको स्वतन्त्रता, लोकतन्त्र र अधिकारका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने सहिदहरूको सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ।

यस अवसरमा राजधानीसहित विभिन्न जिल्लामा सहिद स्मारकमा माल्यार्पण, श्रद्धाञ्जली सभा, दीप प्रज्वलन तथा विविध कार्यक्रम आयोजना गरिएको छ। राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राजनीतिक दलका नेता, नागरिक समाज र सर्वसाधारणले सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

२००७ सालको प्रजातान्त्रिक आन्दोलनका क्रममा जीवन बलिदान दिने सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको स्मृतिमा सहिद दिवस मनाउने परम्परा सुरु भएको हो।

सहिदहरूको बलिदानकै कारण आज देशमा लोकतान्त्रिक व्यवस्था स्थापित भएको स्मरण गरिँदै आएको छ। सरकारले सहिदहरूको सपना अनुसार समृद्ध, समावेशी र न्यायपूर्ण समाज निर्माण गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ज्ञानज्योतीको वार्षिकोत्सवः बालबालिकामा असल नेतृत्व र सुन्दर भविष्यको परिकल्पना

   माघ १६, २०८२       admin

दाङ,१५ माघ । ‘मुलुकमा अब शिक्षा र स्वास्थ्यसँगै रोजगारीको वातावरण पनि सुन्दर बनोस्। आज नभए भोलि अवश्य बनोस्। सरकारको नेतृत्व गर्नेहरूले स्मार्ट सहर र त्यसका अवधारणाको पूर्ण कार्यान्वयन गरून्।’–ज्ञानज्योतीका विद्यार्थीहरु ।विद्यालयको वार्षिकोत्सवका अवसरमा ज्ञानज्योती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु जसले आफ्ना सिर्जनाहरुलाई देशको भविष्यसंग जोडेका थिए।

प्ले ग्रुप देखि कक्षा १० सम्मका विद्यार्थीहरुले फरक–फरक समुहमा विद्यालय परिसरभित्र ज्ञान, सिर्जना र कल्पनाले भरिएको प्रदर्शनी गरेका थिए। प्रदर्शनीमा सरस्वतीको मूर्ति, स्मार्ट सिटीको परिकल्पना, संस्कार र संस्कृति झल्कने सिर्जनाहरू, जिल्लाको भौगोलिक अवस्था, आधुनिक शिक्षण–सिकाइका पद्धतिहरू लगायत थुप्रै सामग्रीहरू राखिएको थियो।

कक्षा ६ मा अध्ययनरत प्रतीक खरालको नेतृत्वमा रहेको टोलीले आफ्ना कलात्मक सिर्जनाहरू प्रस्तुत गर्दै तिनको महत्व र आवश्यकता बारे दर्शकलाई जानकारी गराएको थिए। बालबालिकाले परम्परागत सामग्री प्रयोग गरी तयार पारेका संरचनाले स्थानीय पहिचान, मौलिकता र संस्कृतिको सुन्दर प्रस्तुति दिएको थियो।

ज्ञानज्योती फाउन्डेसनका सिइओ सुरेन्द्र जिसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुलाई असल संस्कार, प्रविधिको सदुपयोग र जीवन सिकाईका बारेमा जानकारी गराइएको थियो।

कार्यक्रममा महाशाखा प्रमुख भण्डारीले वर्तमान अवस्थामा संस्कार सहितको शिक्षा महत्वपूर्ण रहेको बताएका थिए। प्रविधिको सहज उपलव्धता र त्यसको व्यापक प्रयोगले बालबालिकाहरु कुलतमा फस्ने, गलत क्रियाकलापमा सक्रिय रहने जोखिम बढेकाले यसतर्फ अभिभावक सजक बन्नुपर्ने उनको सुझाव थियो । ज्ञान ज्योती विद्यालयले शिक्षाक्षेत्रमा पु¥याएको योगदानको प्रंशसा समेत गरे।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा रहेका डा. चिन्तामणि योगीले अभिभावकलाई आफ्ना सन्तान विदेश पठाउने मेनपावर नबन्न आग्रह गरे। देशमै प्रशस्त सम्भावना र अवसर रहेको उल्लेख गर्दै उनले जीवन बुझ्न सक्ने शिक्षा दिन शिक्षक र अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। विद्यालयले शिक्षा मात्र नभई संस्कार, नेतृत्व र जिम्मेवार नागरिक निर्माणमा जोड दिँदै आएको उनले भनाई थियो । ‘कागजमा पढेर मात्र हुँदैन, अभिभावकलाई सम्मान गर्न सक्ने वातावरण निर्माण गर्नु आजको मुख्य आवश्यकता हो।’– उनले भने ।

सो अवसरमा विद्यालयको शैक्षिक उनन्यनमा योगदान पु¥याएको भन्दैसन्दीप लामिछानेलाई नगद ११ हजार ५०५ रुपैयाँसहित सम्मान गरिएको थियो। हाल ज्ञानज्योती विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म करिब एकहजार ६ सय विद्यार्थी अध्ययनरत छन्। कार्यक्रममा शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सर्वोच्चको फैसला पछि रविको आरोपपत्र संशोधनबारे सुनुवाइ हुने

   माघ १६, २०८२       admin


काठमाडौं,१५ माघ । जिल्ला अदालत रुपन्देहीले सर्वोच्च अदालतमा विचाराधीन रहेको रिट निवेदनको टुंगो लागेपछि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पेस गरिएको आरोपपत्र संशोधनसम्बन्धी निवेदनमा सुनुवाइ हुने स्पष्ट पारेको छ।

आरोपपत्र संशोधनको स्वीकृतिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको जनाउँदै जिल्ला अदालतले उक्त रिटको अन्तिम फैसला आएपछि मात्रै सरकारी वकिलले पेस गरेको निवेदनमाथि निर्णय लिइने जनाएको हो।

रुपन्देही जिल्ला अदालतले रवि लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता गर्ने सरकारी पक्षको निवेदनबारे हालसम्म कुनै निर्णय नभएको स्पष्ट गरेको छ। सर्वोच्च अदालतमा यस विषयमा परेको रिटको टुंगो लागेपछि मात्रै जिल्ला अदालतमा मुद्दा अघि बढाइने अदालतले जनाएको छ।

अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलका अनुसार, “महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगीको अभियोग यथावत राखी सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता गर्न माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले निवेदन पेस गरेको छ।

तर यस विषयमा सर्वोच्च अदालतमा उत्प्रेषण रिट विचाराधीन रहेकाले त्यहाँको अन्तरिम आदेशबारे अन्तिम टुंगो लागेपछि मात्रै जिल्ला अदालतले निर्णय गर्छ। अहिले मुद्दा फिर्ता गर्न अस्वीकार गरिएको होइन, विषय विचाराधीन नै छ।”

उनका अनुसार माघ ६ गते न्यायाधीश श्यामलाल घिमिरेको इजलासले सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेको बुझिएकाले त्यससम्बन्धी अन्तरिम आदेशको विषयमा अन्तिम निर्णय भएपछि मात्र निवेदन पेस गर्न आदेश दिएको थियो। माघ ६ गतेको आदेशबारे नौ दिनपछि फरक ढंगले समाचार आएको उल्लेख गर्दै पौडेलले ती समाचारहरू सत्य नभएको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उम्मेदवारको क्यूआर कोडमार्फत मतदाता सुझाव संकलन अभियान

   माघ १५, २०८२       admin

दाङ, १४ माघ। नेपाली कांग्रेसका उम्मेदवारहरूले रुकुम पश्चिममा क्यूआर कोडमार्फत मतदाताबाट सुझाव संकलन गर्ने अभियान सुरु गरेका छन्। यस अभियानअन्तर्गत मतदाताले आफ्नो क्षेत्रका समस्या, आवश्यकता, विकासका प्राथमिकता तथा निर्वाचित भएपछि गर्नुपर्ने कामबारे सुझाव दिन सक्ने व्यवस्था गरिएको छ।

क्यूआर कोड स्क्यान गरेपछि खुल्ने गुगल फाराममार्फत मतदाताले आफ्ना सल्लाह, सुझाव र अपेक्षा सहजै राख्न सक्ने व्यवस्था मिलाइएको कांग्रेसका युवा उम्मेदवार राजु केसीले बताए। उनका अनुसार संकलित सुझावका आधारमा भविष्यका योजना र विकास कार्यक्रम तय गरिनेछ।

केसीले समृद्ध रुकुम पश्चिम निर्माण गर्ने लक्ष्यसहित विगतमा अधुरा रहेका विकासका काम पूरा गर्न मतदाताको सक्रिय सहभागिता आवश्यक रहेको बताए। व्यस्त मतदाताले पनि आफ्नो सुविधा अनुसार सार्वजनिक रूपमा क्यूआर कोडमार्फत सुझाव दिन सकून् भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको उनले स्पष्ट पारे।

बुधबारदेखि सुरु भएको यस अभियानलाई कांग्रेसले निर्वाचन प्रचारको महत्वपूर्ण अङ्ग बनाएको छ। समानुपातिक उम्मेदवार मानबहादुर नेपालीले क्यूआर कोडमार्फत प्राप्त सबै सुझाव तथा गुनासोलाई संकलन, विश्लेषण र एकीकृत गरी घरदैलो अभियानका क्रममा मतदातासँग प्रत्यक्ष छलफल र बहस गरिने जानकारी दिए।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रुकुम पश्चिममा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ युवा उम्मेदवार राजु केसी र समानुपातिकतर्फ मानबहादुर नेपालीलाई उम्मेदवार बनाएको छ।
एउटै निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एमालेका गोपाल शर्मा लगायतका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन्।

विगतका निर्वाचनमा निरन्तर जनार्दन शर्मा विजयी हुँदै आएको यस क्षेत्रमा यसपटक भने उनले झण्डै तीन दशक लामो प्रचण्डसँगको राजनीतिक सम्बन्ध टुंग्याउँदै एक्लै प्रतिस्पर्धामा उत्रिएका छन्। पूर्व माओवादी धारमा देखिएको विभाजनलाई अवसरका रूपमा लिँदै कांग्रेसले जित निकाल्ने रणनीतिसहित चुनावी प्रचार–प्रसार अभियानलाई तीव्र बनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा १६ वटा अतिसंवेदनशील मतदान स्थल: पाँचहजार बढी सुरक्षाकर्मी परिचालन

   माघ १५, २०८२       admin

दाङ,१४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन दाङ जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको छ। निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाका मतदानस्थलको सुरक्षा विश्लेषण गरी अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा वर्गीकरण गरिएको छ।

वर्गीकरणका आधारमा मतदानस्थलमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए। उनका अनुसार निर्वाचनलाई लक्षित गरी ‘एकीकृत सुरक्षा योजना–२०८२’ तयार गरी कार्यान्वयनमा ल्याइएको छ।

प्रजिअ अर्यालका अनुसार मतदानपूर्व, मतदानको दिन र मतदानपछिको सुरक्षालाई केन्द्रमा राखेर योजनाबद्ध रूपमा काम भइरहेको छ।

विगतका घटनाको समीक्षा, भौगोलिक विकटता, मतदाता सङ्ख्या, जेनजी आन्दोलनपछिको अवस्था लगायतका पक्षलाई ध्यानमा राखी सुरक्षा रणनीति तयार गरिएको उनले बताए।

दाङ जिल्लामा कूल १५९ मतदानस्थल र ४८२ मतदान केन्द्र रहेका छन्। तीमध्ये १३४ मतदानस्थल संवेदनशील, १६ अतिसंवेदनशील र नौ वटा सामान्य रहेका छन्। सोही अनुसार सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ अर्यालले जनाए।

उनले भने, “गस्ती, पेट्रोलिङ, सूचना सङ्कलन, सामाजिक सञ्जालमा फैलिन सक्ने भ्रामक समाचार तथा सामग्रीको निगरानीसमेत थालिएको छ।

” निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका ६०९, सशस्त्र प्रहरीका ४६९, नेपाल प्रहरीका एक हजार ३८१, निर्वाचन प्रहरीअन्तर्गत नेपाल प्रहरीका दुई हजार ४१५ र सशस्त्र प्रहरीका ३०३ गरी कूल पाँच हजार १७७ सुरक्षाकर्मी परिचालन गरिनेछ।

चुनावी कार्यक्रम, उम्मेदवारको घरदैलो अभियान, मतदाता, मतदानस्थल, मतपेटिका तथा मतगणनास्थलको सुरक्षाका लागि एकल तथा संयुक्त सुरक्षा गस्ती सञ्चालन भइरहेको पनि प्रजिअ अर्यालले बताए।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दीपककुमार श्रेष्ठले निर्वाचनलाई ध्यानमा राख्दै जिल्लाको सुरक्षा अवस्था थप सुदृढ बनाइएको जानकारी दिए। उनका अनुसार जिल्ला कमाण्ड पोस्ट र निर्वाचन सेल स्थापना गरी कार्यान्वयनमा ल्याइसकिएको छ।

त्यसैगरी निर्वाचनमा खटिने निर्वाचन प्रहरीको नामावली सार्वजनिक भइसकेको र आवश्यक प्रशिक्षणको तयारी भइरहेको उनले बताए। प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार दाङ जिल्लामा कूल चार लाख ३१ हजार ६८७ मतदाता रहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रुकुमपूर्व र आसपास क्षेत्रमा निरन्तर हिमपात: मध्यपहाडी लोकमार्ग अवरुद्ध

   माघ १५, २०८२       admin

रुकुमपूर्व ,१४ माघ । जिल्लाका उच्च भेगमा अहिले पनि निरन्तर हिमपात भइरहेको छ भने तल्लो भेगमा वर्षा जारी रहेको छ। यस वर्षको दोस्रो पटक परेको हिमपातले माथिल्लो क्षेत्रमा बाक्लो हिउँ जमेको छ। तीनवटा गाउँपालिका रहेका रुकुमपूर्वका तीनै गाउँपालिकाका उच्च भेगका सबै क्षेत्रमा हिमपात भइरहेको छ।

पानी र हिमपातसँगै किसानहरू खुसी देखिएका छन्। माथिल्लो भेगमा हिमपात र तल्लो भेगमा वर्षा भइरहेकाले यस वर्ष हिउँदे बाली राम्रो सप्रिने पुथाउत्तरगङ्गा गाउँपालिका–१३ का स्थानीय किसान दिपेन्द्र छन्त्यालले बताएका छन्।

आकासे पानीकै भरमा खेती गर्दै आएका किसानका लागि यसपटक हिउँदे बालीमा पर्याप्त सिँचाइ मिलेको उनको भनाइ छ। हिउँदमा हिउँ र पानी नपरेका वर्ष अनिकाल लाग्ने गरेको उल्लेख गर्दै यस वर्ष भने समयमै हिउँ र पानी परेकाले सुविकाल हुने आश व्यक्त गरेका छन्।

यसैबीच, रुकुमपूर्वको भूमे गाउँपालिका–१ र बाग्लुङको सिमाना पर्ने यिरनेता (पातिहाल्ने) क्षेत्रमा भारी हिमपात भइरहेकाले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख एवम् डीएसपी उमाशङ्करप्रसाद यादवका अनुसार रुकुमपूर्व–बाग्लुङ सिमाना क्षेत्रमा बाक्लो हिमपातका कारण सवारीसाधन आवतजावत ठप्प भएको हो।

उनका अनुसार काठमाडौँबाट आएका सवारीसाधन पातिहाल्ने आसपासमै रोकिएका छन् भने रुकुमपूर्व हुँदै काठमाडौँ जान लागेका सवारीसाधन रुकुमकोट, काँक्री र लुकुम क्षेत्रमा रोकिएका छन्। हिउँ पन्छाउन नेपाल प्रहरी परिचालन गरिएको पनि डीएसपी यादवले जानकारी दिए।

भूमे गाउँपालिकाले जेसीबी प्रयोग गरी हिउँ पन्छाउने प्रयास गरिरहेको गाउँपालिकाकी उपाध्यक्ष सविना बुढामगरले बताइन्।

उनका अनुसार २ देखि ३ फिटसम्म हिउँ जमेको र निरन्तर भारी हिमपात भइरहेकाले सडक खुलाउन कठिनाइ भइरहेको छ। उनले भनिन्, “जेसीबीले हिउँ पन्छाए पनि केही समयमै फेरि हिउँ जमिरहेको छ। यही अवस्थामै हिमपात जारी रहे सडक खुलाउन सम्भव नहुन सक्छ।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology