दाङ ,१६ चैत । घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ। हाल मोड तथा साँघुरा स्थानहरू खुला गर्ने काम भइरहे पनि सडकलाई चारलेनका रूपमा विकास गर्ने योजना रहेको सडक डिभिजन कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख दीपेन्द्र विष्टका अनुसार चालु आर्थिक वर्षमै सडक विस्तार सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ।
साँघुरो सडकका कारण विगतमा धेरै सवारी दुर्घटना हुने गरेको भन्दै मोड सुधार र सडक फराकिलो बनाएपछि यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको छ।
लमही–घोराही सडकखण्डका जोखिमपूर्ण मोडहरू कटान गरी दुवैतर्फको दृश्य देखिने बनाउने काम भइरहेको उनले बताए।
साँघुरा स्थानमा चौडाइ बढाउने, माटो कटिङ गर्ने तथा आवश्यक स्थानमा पर्खाल निर्माण गरेर सडक विस्तार भइरहेको छ।
घोराही उपमहानगरपालिका–३ कुइरेपानीदेखि लमही नगरपालिका–६ अर्जुनखोलासम्म करिब १७ किलोमिटर सडकखण्डमा विस्तारको काम भइरहेको जनाइएको छ।
सडक सुधार कार्यक्रमअन्तर्गत विभिन्न मोड सुधार, कटिङ तथा पर्खाल निर्माणका काम अघि बढाइएको छ।
लमहीको अर्जुनखोलादेखि घोराहीको चौपट्टा मन्दिरसम्म करिब २० करोड १३ लाख रुपैयाँ बराबरका तीन ठेक्का सम्झौता गरी काम भइरहेको प्रमुख विष्टले जानकारी दिएका छन्।
कुइरेपानीदेखि मसोटखोलासम्मको खण्ड श्री मुनाल–केवी–सुनिल एन्ड विजय जेभीसँग करिब १३ करोड ४६ लाख रुपैयाँमा र मसोटखोलादेखि अर्जुनखोलासम्मको खण्ड श्री इजी–अलकापुरी जेभीसँग करिब ६ करोड ८० लाख रुपैयाँमा सम्झौता गरी काम भइरहेको छ।
चालु आर्थिक वर्षमै सडक सुधार सम्पन्न गर्ने लक्ष्यका साथ काम तीव्र रूपमा अघि बढाइएको जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१४ चैत। नयाँ संसदको अधिवेशन आगामी चैत १८ गतेका लागि डाक्ने तयारी गरिएको छ।सरकारले अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई पत्र लेखेपछि राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ।
सामान्यतया अधिवेशन आह्वान गर्दा कम्तीमा एक साताको समय दिइने प्रावधान रहेको छ। अधिवेशनको पहिलो बैठकमा राष्ट्रपतिले आह्वानसम्बन्धी पत्र पढेर सुनाउने, सरकारले पठाएका महत्वपूर्ण पत्रहरू प्रस्तुत गर्ने तथा दलका नेताहरूलाई शुभकामना मन्तव्यका लागि समय दिने अभ्यास रहँदै आएको छ।
संसदको पहिलो बैठक सिंहदरबारमै बस्ने तयारी गरिएको छ। नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराइएको हलमै बैठक सञ्चालन गरिनेछ।
नेपालको संविधानको धारा ९३ अनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था रहेको छ।
यसै व्यवस्थाअनुसार राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै एक सदनको अधिवेशन आह्वान गर्ने प्रावधान रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१४ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अविलम्ब रिहा गर्न माग गरेका छन्।
ओली पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले पूर्वाग्रह र प्रतिशोधको मूल्य महँगो पर्ने चेतावनी दिएका हुन्।
“पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ, जिम्मेवार बन, अविलम्ब रिहा गर,” उनले उल्लेख गरेका छन्।
शनिबार बिहान गृहमन्त्री सुदन गुरुङको निर्देशनमा प्रहरीले गुण्डु, भक्तपुरबाट ओलीलाई पक्राउ गरेको थियो।
यसैबीच प्रहरीले पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरेको छ। ओलीको पक्राउप्रति एमालेका अन्य नेताहरूले पनि प्रतिक्रिया जनाइरहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१३ चैत । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की आज बालुवाटारबाट धापासीस्थित निजी निवासमा फर्किएकी छन्। नवनियुक्त प्रधानमन्त्री वालेन्द्र साह (बालेन)ले शपथ ग्रहण गरेलगत्तै कार्की बालुवाटारबाट बाहिरिएकी हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कार्कीले सार्वजनिक जिम्मेवारीको एक महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको उल्लेख गरेकी छन्। कठिन परिस्थितिमा राष्ट्रको नेतृत्व गर्नुपरेको स्मरण गर्दै उनले सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सफल भएको बताएकी छन्।
उनले लोकतन्त्रप्रति जनताको विश्वास र सहभागिताले देशलाई सही दिशातर्फ अघि बढाएको उल्लेख गर्दै जननिर्वाचित नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा खुसी लागेको जनाएकी छन्। साथै नयाँ पुस्ताको ऊर्जावान् नेतृत्वले देशलाई समृद्ध र स्थिर भविष्यतर्फ लैजाने विश्वास व्यक्त गरेकी छन्।
यस क्रममा उनले नागरिक, सहकर्मी तथा सरोकारवालाप्रति आभार व्यक्त गरेकी छन्।
गत भदौ २७ गतेदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी कार्कीले ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पूरा गर्दै नवनिर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण गरेकी हुन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१२चैत । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् भने ४७९ जनाको मृत्यु भएको छ।
यस अवधिमा १ हजार ८०० जना घाइते भएका छन्। प्राधिकरणका अनुसार सबैभन्दा धेरै ३ हजार ४८० वटा आगलागीका घटना भएका छन्। यसैगरी बाढीका ३२१, पहिरोका ६०४, भारी वर्षाका ४४२, चट्याङका ४०६ र सर्पदंशका ६०० घटना भएका छन्।
यस्तै वन डढेलोका २७९, हुरीबतासका ४५१, जनावर आक्रमणका ५०४, लेक लागेका १२३ र हिउँपहिरोका पाँचवटा घटना भएका छन्। यस अवधिमा भूकम्पका सात, असिना र डुङ्गा पल्टिएका दुई/दुई तथा असिनासहित हुरी र शीतलहरका एकरएक घटना भएका प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार चैत १० गते बिहानदेखि ११ गते बिहानसम्म मात्र २६ वटा विपद्का घटना भएका छन्। एकै दिन नौ जिल्लाका १३ स्थानमा आगलागी हुँदा १० जना घाइते भएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१२ चैत। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सहज बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले भने बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
तर, नयाँ प्रतिनिधिसभा र कायम रहने राष्ट्रिय सभासहितको संघीय संसद्को अधिवेशन भने अहिलेसम्म आह्वान गरिएको छैन। कानुनी प्रावधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने व्यवस्था छ।
हाल सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अधिवेशन आह्वान नगरेको जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले मन्त्रिपरिषद् बैठक बस्ने निर्णय नभएको र नयाँ सरकारले नै अधिवेशन आह्वान गर्ने सम्भावना रहेको बताएका छन्।
अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने हुन्छ। यसअघि चैत १६ गतेका लागि अधिवेशन बोलाउने चर्चा भए पनि अब उक्त मितिमा अधिवेशन हुने सम्भावना टरेको छ।
अधिवेशन आह्वान गर्दा कम्तीमा एक साताको समय दिनुपर्ने प्रावधान रहेकाले पनि चैत १६ मा अधिवेशन बस्ने सम्भावना समाप्त भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार संसद् अधिवेशन सञ्चालनका लागि आवश्यक ‘बिजनेस’ नयाँ सरकारले तय गरेपछि मात्र बैठक बोलाउने प्रक्रिया अघि बढाइनेछ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,११चैत । रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले दिएको अभिमतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको बताएका छन्।
निर्वाचन आयोग नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्ने बताएका हुन्। उनले लोकतन्त्रमा मत फरक हुन सक्ने भए पनि राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपाली एकमत हुने विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले लक्षित गरेको जनताको जीवनस्तर उकास्ने र मुलुकलाई समृद्ध बनाउने काममा सबैलाई जुट्न आह्वान गरेका छन्। उनले निर्वाचनमा नागरिकको उत्साहपूर्ण सहभागिताले लोकतान्त्रिक प्रणालीप्रतिको विश्वास झन् मजबुत भएको बताए।
त्यस्तै, निर्वाचन आयोगले मतदाता सहभागिता बढाउने, मितव्ययिता, पारदर्शिता र आचारसंहिता कार्यान्वयनमा उल्लेखनीय काम गरेको पनि उनले बताएका छन्।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र वातावरणमैत्री बनाउन आयोग सफल भएको उनले उल्लेख गरे। साथै, प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,९ चैत। नेपाल प्रहरीले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाको विवरण सोमबार सार्वजनिक गरिएको हो।
पक्राउ पर्नेमा भारतका ४१ वर्षीय प्रवेश अली रहेका छन्। प्रारम्भिक अनुसन्धानमा उनले आफ्नो मोबाइलमार्फत करिब १ अर्ब ३६ करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ। उनी ललितपुर महानगरपालिका–१३, एकान्तकुनामा बस्दै आएका थिए र हुण्डी कारोबारीसँग सम्बन्ध रहेको पाइएको छ।
यसैगरी पक्राउ पर्ने अन्यमा नरेश रेउले र दिप्ती पोखरेल रहेका छन्। रेउले काठमाडौं महानगरपालिका–६, बौद्ध जोरपाटीमा बस्दै आएका थिए भने पोखरेल भक्तपुरमा बसोबास गर्दै आएका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले हुण्डी तथा क्रिप्टो कारोबार भइरहेको सूचनाका आधारमा रेउलेलाई सामाखुशी, काठमाडौंबाट पक्राउ गरेको थियो।
सोधपुछका क्रममा उनले दिप्ती र प्रवेशका लागि यूएसडीटी खरिद–बिक्री गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले दिप्तीलाई सामाखुशीस्थित रेडहन पुलबाट नगद १५ लाख ३० हजार रुपैयाँसहित पक्राउ गरेको थियो भने प्रवेशलाई एकान्तकुनाबाट नियन्त्रणमा लिएको थियो। उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,९ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि सबै विषयगत मन्त्रालयलाई चैत १५ गतेभित्र योजना तथा कार्यक्रम प्रस्ताव पेस गर्न निर्देशन दिएको छ।
मन्त्रालयले तयार पारेको बजेट क्यालेन्डरअनुसार सबै मन्त्रालयले आफ्ना योजना तथा कार्यक्रम एलएमबिआइएसमा अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्नेछ।
अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले सबै मन्त्रालयलाई बजेट सीमा (सिलिङ)पठाइसकिएको र सोहीअनुसार प्रस्ताव राख्न भनिएको बताए। “नयाँ सरकार गठन भइनसकेको भए पनि बजेट निर्माण प्रक्रिया अघि बढाउनुपर्ने अवस्था छ,” उनले भने।
उनले बजेट आर्थिक मात्र नभई राजनीतिक विषयसँग समेत जोडिएको उल्लेख गर्दै नयाँ सरकारको नीति तथा कार्यक्रमअनुसार अन्तिम बजेट तय हुने बताए।
सरकारले आगामी आवका लागि करिब १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट ल्याउने गरी सिलिङ तयार गरेको राष्ट्रिय योजना आयोगले जनाएको छ।
चैतदेखि बजेट निर्माण प्रक्रिया तीव्र बनाइने कार्यतालिका छ। चैत १५ भित्र मन्त्रालयबाट प्रस्ताव संकलन, चैत २१–२३ मा मन्त्री तथा सचिवसँग छलफल, र चैत अन्तिम सातादेखि प्रदेशसँग परामर्श गर्ने योजना रहेको छ।
वैशाख महिनामा बजेटको प्राविधिक तथा नीतिगत तयारी गरिनेछ भने जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ।
नयाँ सरकार गठनमा ढिलाइ हुँदा नीति तथा कार्यक्रम तय गर्न केही प्रभाव परेको भए पनि तोकिएकै समयमा बजेट ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
सल्यान, ९ चैत । नेपाल विद्युत प्राधिकरणको सल्यान वितरण केन्द्रमा मिटर नपाएपछि एक वडाध्यक्ष धर्नामा बसेका छन्। कपुरकोट गाउँपालिका–३का वडाध्यक्ष प्रदीप खड्का आफ्ना वडाका तीन जना सेवाग्राहीका लागि विद्युत मिटर लिन कार्यालय पुगेका थिए। आवश्यक प्रक्रिया पूरा गरेपछि पनि मिटर उपलब्ध नहुने भनिएपछि उनले धर्ना बस्ने निर्णय गरेका हुन्।
साँझ ५ बजेदेखि सुरु भएको धर्ना राति अबेरसम्म जारी रह्यो। मिटर पाउनुपर्ने माग राख्दै उनी वितरण केन्द्र परिसरमै बसे ।अन्ततः करिब साढे १० बजे कर्मचारीहरूले मिटर उपलब्ध गराएपछि उनले धर्ना अन्त्य गरेका छन्।
घटनापछि सेवा प्रवाहलाई छिटो र सहज बनाउने सहमति भएको बताइएको छ। यस घटनाले सेवा प्रणालीमा ढिलासुस्ती र व्यवहारगत समस्या रहेको देखाएको स्थानीयहरुको भनाई छ।
यसैबीच सल्यानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रमेश मल्लले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। “प्रक्रियाको नाममा भएको ढिलासुस्तीले गम्भीर प्रश्न उठाएको छ, जनप्रतिनिधिसँग यस्तो व्यवहार भए सर्वसाधारणको अवस्था के होला?” उनले भने।
उनले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न र सेवा प्रवाह सुधार गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस