काठमाडौ, २२ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई आगामी प्रतिनिधिसभा निर्वाचनमा विवेकपूर्वक मत प्रयोग गर्न आह्वान गरेकी छन्। उनले मतदाता नामावलीमा नाम दर्ता गरी आधिकारिक रूपमा मतदाता परिचयपत्र बनाउने आवश्यकतामाथि जोड दिएकी छन्।
शुक्रबार भिडियो सन्देशमार्फत प्रधानमन्त्री कार्कीले भनिन्, “हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुन जरुरी छ।” उनले देशभर कात्तिक ३० गतेभित्र जारी मतदाता नामावली सङ्कलन कार्यक्रममा सबै युवाहरूको सक्रिय सहभागिता अपेक्षा गरेकी छन्।
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीमा निर्वाचन आयोगले देशभर मतदाता नाम दर्ता अभियान सञ्चालन गरिरहेको छ। यसै सन्दर्भमा प्रधानमन्त्री कार्कीले यो अभियानलाई लोकतान्त्रिक अधिकार सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिन युवाहरुलाई आग्रह गरिन्।
उनले भनिन्, “जेनजी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन सबैभन्दा पहिला हामीले मतदाता परिचयपत्र बनाउनुपर्छ, अनि त्यसको सही उपयोग गरेर योग्य प्रतिनिधि छान्नुपर्छ।”
प्रधानमन्त्रीले विद्यमान बेथितिका विरुद्ध लड्न र देश विकासमा सहकार्य गर्न प्रत्येक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने बताउँदै सबैलाई नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचयपत्र बनाउन अनुरोध गरेकी छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२२ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालमाथि भारतीय कम्पनी पावर ट्रेड कर्पोरेसन अफ इन्डिया (पीटीसी) सँग महँगो दरमा विद्युत् खरिद सम्झौता गरेर करिब ४३ करोड रुपैयाँको अनियमितता भएको खुलासा भएको छ। प्राप्त कागजातअनुसार पीटीसीले पहिले प्रस्ताव गरेको दरभन्दा बढी रकममा सम्झौता गरिएको हो।
स्रोतका अनुसार घिसिङले सिलवाललाई ५ असोजमा प्राधिकरणको प्रमुखमा नियुक्त गरेपछि भोलिपल्ट नै नाटकीय रूपमा विद्युत् खरिद सम्झौता गरिएको थियो। सम्झौताको क्रममा पीटीसीले पहिले प्रस्ताव गरेकोभन्दा प्रतियुनिट बढी दरमा विद्युत् खरिद गर्न सहमति जनाइएको देखिन्छ।
प्राधिकरणले हिउँदको समयमा भारतबाट ठूलो मात्रामा विद्युत् आयात गर्दै आएको छ। यही क्रममा कार्यकारी निर्देशक सिलवाल र पीटीसीका प्रबन्ध निर्देशक (मार्केटिङ) विक्रम सिंहबीच २७ असोज (१३ अक्टोबर २०२५) मा १ सय ८० मेगावाट विद्युत् आयातको सम्झौता गरिएको हो। सम्झौताअनुसार प्राधिकरणले प्रतियुनिट ६.९५ भारु अर्थात् ११.१२ नेपाली रुपैयाँमा विद्युत् खरिद गर्ने भएको छ।
तर, पीटीसीले यसअघि ८ अगस्ट २०२५ मा पठाएको प्रस्तावमा प्रतियुनिट ६.७४ भारु अर्थात् १०.७८ रुपैयाँमा विद्युत् बिक्री गर्न तयार रहेको जनाएको थियो। सो प्रस्ताव सस्तो भए पनि प्राधिकरणले त्यसलाई बेवास्ता गर्दै नयाँ र महँगो दरको सम्झौता गरेको देखिन्छ।
दस्तावेजअनुसार, सिलवालले आफू प्रबन्ध निर्देशक नियुक्त भएको भोलिपल्ट अर्थात् ६ असोज (२२ सेप्टेम्बर २०२५) मै पीटीसीलाई नयाँ प्रस्ताव पेस गर्न लगाएका थिए। त्यसपछि पीटीसीले महँगो दरको प्रस्ताव पठाएको र त्यसै आधारमा विद्युत् खरिद सम्झौता गरिएको जनाइएको छ, जसले करिब ४३ करोड रुपैयाँ बराबरको आर्थिक गडबडीको आशंका बढाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२२ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ। एक महिनादेखि काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचाररत ६३ वर्षीय आलमको शनिबार निधन भएको हो। उच्च रक्तचाप र मधुमेहका समस्या देखिएपछि उनलाई दशैंअघि अस्पताल भर्ना गरिएको थियो। पछिल्ला दिनमा स्वास्थ्य अवस्था झनै गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखिएको थियो। कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाले उपचारका क्रममा आलमको मृत्यु भएको पुष्टि गरेका छन्।
आलमका छोरा डा. राजीक आलमका अनुसार केही समयअघि भारतको गुडगाँवस्थित मेदान्त अस्पतालमा पनि उनका बुवाको उपचार गरिएको थियो। भारतमा सुधार देखिएपछि घर ल्याइए पनि फेरि स्वास्थ्य बिग्रँदै गएपछि उनलाई काठमाडौं मेडिकल कलेजमा लगिएको थियो। यसअघि नख्खु कारागारबाट छुटेपछि केही दिनमै मस्तिष्कघात भएको र माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा आईसीयूमा राखेर उपचार गरिएको थियो।
२०६४ सालमा रौतहटको राजपुरमा भएको बम विस्फोटमा संलग्नताको आरोपमा आलमलाई जिल्ला अदालतले जन्मकैदको सजाय दिएको थियो। तर, उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले गत जेठमा उनलाई सफाइ दिएको थियो। त्यसपछि उनी नख्खु कारागारबाट छुटेका थिए। करिब छ वर्ष जेलजीवन बिताएपछि स्वतन्त्र बनेका आलम छुटेको केही दिनमै मस्तिष्कघात भएपछि फेरि अस्पतालमा भर्ना भएका थिए।
रौतहट क्षेत्र नम्बर २ बाट लगातार चारपटक सांसद निर्वाचित भएका आलम क्षेत्रका प्रभावशाली नेता मानिन्थे। उनी पहिलो संविधानसभा निर्वाचनदेखि नै त्यहाँको राजनीतिक शक्तिका रूपमा परिचित थिए। दोस्रो संविधानसभा निर्वाचनमा आफ्नै भान्जा मुस्ताक राजाबाट पराजित भए पनि २०७४ को संसदीय निर्वाचनमा पुनः जित हासिल गरेका थिए।
आलमले २०३६ सालमा नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। उनका काका शेख इद्रिसको प्रेरणाले कांग्रेस राजनीतिमा प्रवेश गरेका उनी २०४५ सालमा कांग्रेस रौतहटका जिल्ला सभापति बनेका थिए। उनी विभिन्न कालखण्डमा श्रम, वन, स्थानीय विकास र भूमिसुधारजस्ता मन्त्रालयमा राज्यमन्त्री र मन्त्री बने। आलमका दुई छोरा र एक छोरी छन्। जेठा छोरा डा. फिरदोस र कान्छा छोरा डा. राजीक अहिले राजपुर नगरपालिकाका नगरप्रमुख हुन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२१ कार्तिक । सिङ्गापुर एयरलाइन्सले काठमाडौं र सिङ्गापुरबीचको रुटमा अब बोइङ ७३७–८ म्याक्स विमान स्थायी रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ।
कम्पनीका अनुसार नयाँ विमानको सञ्चालनले यात्रुहरूलाई अझ आरामदायी, सुविधासम्पन्न र वातावरणमैत्री उडान अनुभव उपलब्ध गराउनेछ।
यसअघि एयरलाइन्सले सो रुटमा बोइङ ७३७–८०० एनजी विमान प्रयोग गर्दै आएको थियो। नयाँ म्याक्स विमानको आगमनले उडान अनुभवलाई थप स्तरोन्नत बनाएको कम्पनीको दाबी छ।
नयाँ बोइङ ७३७–८ म्याक्समा यात्रुहरूले पूर्ण रूपमा सुताउन मिल्ने बिजनेस क्लास सिट मा यात्रा गर्न सक्नेछन्। साथै, उडानभरि निःशुल्क वाइफाइ सेवा पनि उपलब्ध हुनेछ, जुन सबै वर्गका यात्रुहरूले प्रयोग गर्न सक्नेछन्।
यस सुविधाले यात्रुहरूलाई उडानका क्रममा काम गर्न, परिवार र साथीहरूसँग सम्पर्कमा रहन तथा मनोरञ्जनका लागि इन्टरनेट प्रयोग गर्न सहज बनाएको कम्पनीले जनाएको छ।
आधुनिक क्याबिन डिजाइन, उन्नत इन–फ्लाइट मनोरञ्जन प्रणाली र उच्च इन्धन दक्षतासँग सुसज्जित यो विमानले यात्रुलाई नयाँ स्तरको सुविधा र सुरक्षाको अनुभव दिने बताइएको छ।
सिङ्गापुर एयरलाइन्सका अनुसार बोइङ ७३७–८ म्याक्स विमान अब काठमाडौं–सिङ्गापुर र सिङ्गापुर हुँदै अन्य गन्तव्यहरूका लागि स्थायी रूपमा उपलब्ध हुनेछ।
कम्पनीले यस परिवर्तनले नेपालबाट विश्वभर यात्रा गर्ने यात्रुहरूका लागि विश्वस्तरीय सेवा र गुणस्तरमा निरन्तरता ल्याउने विश्वास व्यक्त गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
सरकारले अब सवारी चालक अनुमति–पत्र (लाइसेन्स) छाप्न सुरु गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षा मुद्रण केन्द्रले शुक्रबारदेखि लाइसेन्स छपाइको काम सुरु गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट लाइसेन्स छपाइको औपचारिक शुभारम्भ गरेका हुन्। उनले कानुनी उल्झन र विभिन्न कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर छपाइ सुरु गरिएको बताए।
मन्त्री खरेलले भने, “वर्षौदेखि सुरक्षा मुद्रण केन्द्रका मेसिन थन्किएका थिए। मेसिन र पार्टपूर्जा सबै धुलाम्य थिए, ठाउँ नै खण्डहर जस्तो बनेको थियो। अहिले धुलो टकटक्याएर छपाइ सुरु गरेका छौँ।”
उनका अनुसार केन्द्रका मेसिनबाट अब राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, स्टिकर र हुलाक टिकट समेत छाप्न सकिनेछ। उनले थपे, “हाल २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ।”
यसअघि लाइसेन्स, राहदानी र राष्ट्रिय परिचयपत्रजस्ता सामग्रीहरू विदेशी कम्पनीलाई ठेक्का दिएर छाप्ने गरिँदै आएको थियो। मन्त्री खरेलका अनुसार अब देशमै आवश्यक पूर्वाधार र स्रोत साधनको उपयोग गर्दै नीतिगत सुधारमार्फत छपाइ सुरु गरिएको हो।
सुरक्षा मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले विभिन्न कानुनी र प्राविधिक जटिलता समाधान गरेर छपाइ सुरु गरिएको जानकारी दिए।
पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता अनुसार आजबाट काम सुरु भएको छ। सुरुमा दैनिक ५ सय प्रति छापिने र क्रमशः मात्रा बढाइने केन्द्रले जनाएको छ।
कार्यकारी निर्देशक ढुंगानाका अनुसार अबदेखि नागरिकता, अन्तशुल्क स्टिकर, हुलाक टिकट, लालपूर्जा र भिसा स्टिकर पनि यही केन्द्रबाट छाप्न सकिनेछ। हालसम्म सुरक्षा मुद्रण केन्द्रमा करिब तीन अर्ब रुपैयाँ लगानी भइसकेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काबुल,२१ कार्तिक । पाकिस्तान र इराकमा बन्दी बनाइएका ४३३ जना अफगान नागरिकलाई गत हप्तामा रिहा गरी स्वदेश फर्काइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पाकिस्तानको हिरासतमा रहेका ४३० जना अफगान नागरिकलाई दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाकामार्फत स्वदेश फर्काइएको हो।
यस्तै, विगत छ महिनादेखि इराकमा बन्दी बनाइएका अन्य तीन जना अफगानलाई पश्चिमी निमरोज प्रान्तको पुल–ए–अब्रेसिम सीमा हुँदै स्वदेश पठाइएको बताइएको छ।
गत अक्टोबरको अन्त्यमा १७० जना अफगान नागरिक रिहा भई स्वदेश फर्किएका थिए। अफगान विदेश मन्त्रालयका अनुसार हाल दश हजारभन्दा बढी अफगान नागरिक विदेशी जेलमा रहेका छन्, जसमा अधिकांश इरान र पाकिस्तानमा बन्दी अवस्थामा छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२१ कार्तिक । देशभर १ लाख ३६ हजार ६० जना नयाँ मतदाता मतदाता नामावलीमा दर्ता भएका छन्।
निर्वाचन आयोगले असोज १० गतेदेखि कात्तिक ३० गतेसम्म नयाँ मतदाता दर्ता गर्न सूचना जारी गरेको थियो। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार असोज १० पछि बिहीबार बेलुकासम्म १ लाख ३६ हजार ६० जना नयाँ मतदाता थपिएका हुन्।
केवल बिहीबार मात्रै ११ हजार १ सय ९७ जनाले नाम दर्ता गराएका छन्। तीमध्ये ६ हजार ४६१ पुरुष, ४ हजार ७३४ महिला र २ जनाले ‘अन्य’ श्रेणीमा नाम दर्ता गराएको आयोगले जनाएको छ।
यससँगै नयाँ दर्ता भएका पुरुष मतदाताको संख्या ८१ हजार ८६४ पुगेको छ भने महिला मतदाता ५४ हजार १७८ र ‘अन्य’ १८ जना पुगेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२१ कार्तिक । श्रीलंकामा जारी काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपाली टोलीले एकै दिन दुई जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा नेपालले घरेलु टोली श्रीलंका र माल्दिभ्सलाई पराजित गरेको हो।
नेपालले श्रीलंकालाई २५–१८, २६–२४, १९–२५ र २५–२० ले पराजित गर्यो भने माल्दिभ्समाथि सोझो सेटमा ३–० को जित हात पार्यो।
यसअघिको खेलमा भने नेपाल कीर्गिस्तानसँग ३–२ ले पराजित भएको थियो। नेपालले २–१ सेटको अग्रता लिए पनि अन्तिम दुई सेटमा हार बेहोर्नु परेको थियो।
च्याम्पियनसिपमा कुल चार टोली सहभागी छन्। राउन्ड रोबिन चरणपछि शीर्ष चार टोलीबीच सेमिफाइनल खेल हुनेछ। कात्तिक २३ गते फाइनल र तेस्रो स्थानका लागि खेल आयोजना हुने तालिका छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२० कार्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्।
बिहीबार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता र कार्यकर्तासँग बोल्दै उनले असंवैधानिक सरकारले प्रतिनिधिसभा विघटन गरेको दाबी गर्दै त्यसको पुनःस्थापनाका लागि संघर्ष अघि बढाउने बताएका हुन्।
ओलीले भने, “यो असंवैधानिक सरकारले प्रतिनिधिसभा किन भङ्ग गरेको हो? देशलाई बेलगाम छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरेको हो। सिफारिस गर्ने हैसियत नै नभएकाहरूले सिफारिस गरेका छन्, र राष्ट्रपतिज्यूले संविधान विपरीत भङ्ग गर्नु भयो, जुन गर्नु हुँदैनथ्यो।”
उनका अनुसार, प्रतिनिधिसभा विघटनको सिफारिस असंवैधानिक भएकाले एमालेले पुनःस्थापनाको माग गर्दै आन्दोलन सुरु गर्ने निर्णय गरेको हो।
त्यससँगै उनले मुलुकमा शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउन एमालेले ‘युथ भोलेन्टियर्स फोर्स’ गठन गर्ने निर्णय गरेको जानकारी पनि दिएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२० कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा अहिले प्रत्यक्ष कार्यकारी प्रणाली लागू गर्ने अवस्था नरहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशका उत्पीडित वर्ग, किसान, मजदुर, युवा र बुद्धिजीवीहरू अझैसम्म राज्यसत्ताबाट टाढा रहेको उल्लेख गरे। ‘नेपालका उत्पीडित वर्ग, किसान, मजदुर, युवा र बुद्धिजीवी संसद्मा पुग्न सकेका छैनन्,’ उनले भने, ‘त्यसैले यो राज्य संरचना परिवर्तन गरेर मात्र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको चुनाव गर्न सकिन्छ।’
विप्लवले प्रत्यक्ष जनताद्वारा निर्वाचित कार्यकारी प्रमुखमा जानुपर्ने आवश्यकता रहेको बताए तर अहिलेको अवस्थामा त्यो सम्भव नभएको स्पष्ट पारे।
‘अहिले प्रत्यक्ष कार्यकारी भनियो भने पैसाको बलमा एनजिओ डाँकाहरू, विदेशी डलर ल्याएर जनतालाई भ्रष्टीकरण गर्नेहरूले देशविरुद्ध गतिविधि बढाउने खतरा रहन्छ,’ उनले भने, ‘त्यसैले त्यस्ता एनजिओहरूमा नियन्त्रण र प्रतिबन्ध लगाइएपछि मात्र निष्पक्ष चुनाव सम्भव हुनेछ।’
उनले थपे, ‘विदेशीको दाना खानेले निष्पक्ष चुनाव दिन सक्दैन, विदेशीको इशारामा चल्ने शासकले पनि नेपालमा निष्पक्ष चुनाव गराउन सक्दैन।’
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस