अवरुद्ध पूर्व–पश्चिम राजमार्ग पुनः सञ्चालन

   कार्तिक ०८, २०८२       admin

दाङ,७ कार्तिक । अवरुद्ध पूर्व–पश्चिम राजमार्ग पुनः सञ्चालन भएको छ।भोलि पुनः छलफल गर्ने सहमतिपछि झण्डै दुई घण्टा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गको दाङ खण्ड केहीबेर अघि खुलेको हो ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेका अनुसार, मृतकका आफन्त र प्रशासनबीच सहमति भएपछि यातायात सञ्चालनमा आएको हो ।

बस चालकलाई हदैसम्मको कानुनी कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै मृतकका आफन्तले राजमार्ग अवरुद्ध गरेका थिए । लमही नगरपालिका–१ नर्ती क्षेत्रमा सडकमा धर्ना दिँदै उनीहरूले सवारी साधन आवागमन रोकेका थिए ।

भाइटिकाको दिन दिदीको हातबाट टीका थापेर घर फर्किँदै गरेका राप्ती गाउँपालिका–५ सिङ्गेखोला निवासी ६६ वर्षीय रामप्रसाद भट्टराईलाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।

घटनामा संलग्न सवारी चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकको लापरवाहीका कारण दुर्घटना भएको भन्दै आफन्तहरूले हदैसम्मको कानुनी कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै शव नबुझ्ने अडान लिएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज नेपाल सम्वत् ११४६ देशभर मनाइँदै

   कार्तिक ०६, २०८२       admin

काठमाडौ,५ कार्तिक। नेपाल सम्वत् ११४६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। नेवार समुदायका लागि यो सम्वत् नयाँ वर्षको रूपमा मनाइने विशेष पर्व हो।

राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ ( ई।सं। ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वतको सुरुवात गरेका थिए। त्यसै दिवसको सम्झनामा हरेक वर्ष यो सम्वत् उल्लासपूर्वक मनाइन्छ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा। त्रिरत्न मानन्धरका अनुसार, नेपाल सम्वत् लिच्छविकालका राजा राघवदेवको शासनकालमा सुरु भई पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वतका रूपमा प्रचलनमा थियो। उनले भने, “नेपाल देशकै नामबाट राखिएको यो सम्वत् हाम्रो मौलिक पहिचान हो।”

विसं २००७ मा प्रजातन्त्र स्थापना भएपछि नेपाल सम्वतलाई राष्ट्रिय मान्यता दिलाउन अभियान सुरु गरिएको थियो। नेवार समुदायले काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा विशेष उत्साहका साथ यो नयाँ वर्ष मनाउने गर्छन्।

गरिब जनताको ऋणमोचन गरेर सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका शंखधर साःख्वालाई विसं २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राष्ट्रिय विभूति घोषणा गरेका थिए।

यस्तै, विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वतलाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए। आज पनि कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परा काठमाडौँ उपत्यकामा निरन्तर रूपमा चल्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जापानको पहिलो महिला प्रधानमन्त्री

   कार्तिक ०५, २०८२       admin

काठमाडौ,४ कार्तिक ।जापानले इतिहास रचेको छ । देशले पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ। लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)की अध्यक्ष सानाई टाकाची जापानको प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। मंगलबार संसदको तल्लो सदनले उनलाई प्रधानमन्त्रीमा चयन गरेको हो।

जापानको सबैभन्दा ठूलो दल एलडीपीले जापान इन्नोभेसन पार्टीसँग गठबन्धन गरी नयाँ सरकार गठन गर्न लागेको छ।

६४ वर्षीया टाकाची एक महिनाअघि मात्र पार्टीको अध्यक्षमा नियुक्त भएकी थिइन्। उनले आजै मन्त्रिपरिषद् गठनको तयारी गरिरहेको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

टाकाचीको यो प्रधानमन्त्री बन्ने तेस्रो प्रयास हो। ‘स्क्यान्डल’ले ग्रस्त एलडीपीले पछिल्लो पाँच वर्षमा चार प्रधानमन्त्री देखिसकेको छ। अब उनीसामु सुस्त अर्थतन्त्रलाई गतिशील बनाउने, अमेरिका–जापान सम्बन्ध सन्तुलित राख्ने र आन्तरिक द्वन्द्वले कमजोर बनेको पार्टीलाई एकजुट गर्ने जस्ता चुनौतीहरू छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

२ वर्ष १३ दिनपछि नेपाल आइपुग्यो विपिनको शव

   कार्तिक ०४, २०८२       admin

काठमाडौं,३ कार्तिक । इजरायलमा २ वर्ष १३ दिनअघि हमासले अपहरण गरेका नेपाली युवक विपिन जोशीको शव अन्ततः स्वदेश आइपुगेको छ।

फ्लाइ दुबईको विमानमार्फत जोशीको शवको अवशेष सोमबार नेपाल ल्याइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार शव बोकेको विमान केही समयअघि काठमाडौं अवतरण गरेको छ।

विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणका क्रममा बेपत्ता भएका थिए। दुई वर्षभन्दा बढी समयपछि उनको शव फेला परेर नेपाल ल्याइएको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि १७ निवेदन: ‘क्रस खुकुरी’ चिन्ह फेर्न आयोगको सुझाव

   कार्तिक ०४, २०८२       admin

काठमाडौ,३ कार्तिक । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिने राजनीतिक समूहहरूको संख्या १७ पुगेको छ। आयोगका अनुसार सबै १७ दल दर्ताको प्रक्रियामा रहेका छन्।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार जेनजी आन्दोलन अघि १० वटा दलले दर्ताका लागि निवेदन दिएका थिए भने आन्दोलनपछि थप सात दलले निवेदन दिएका हुन्। उनका अनुसार ती सबै निवेदनहरू हाल आयोगको अध्ययनको क्रममा छन्।

हालसम्म आयोगमा दर्ता भएका दलहरूको संख्या १२४ पुगेको छ। यदि निवेदन दिएका सबै दल दर्ता भए, दलको संख्या अझ बढ्नेछ।

यसबीच दुई पार्टी फुटेर नयाँ दल बनेका छन् — जनमत पार्टी फुटेर जनस्वराज पार्टी दर्ता भएको छ भने नेपाल जनमुक्ति पार्टी फुटेर अर्को नयाँ दल दर्ता भएको आयोगले जनाएको छ।

आयोगका अनुसार केही दलको विधान स्पष्ट हुनुपर्ने, केहीको सनाखतका लागि आवश्यक सदस्य संख्या नपुगेको, र केहीको चुनाव चिन्ह सम्बन्धी समस्या रहेको कारण अध्ययन र संशोधन प्रक्रिया चलिरहेको छ।

आयोगले एक दललाई चुनाव चिन्ह परिवर्तन गर्न समेत सुझाव दिएको छ। ‘राष्ट्रिय जेनजी पार्टी नेपाल’ ले प्रस्ताव गरेको ‘क्रस खुकुरी’ चिन्ह फेर्न आयोगले आग्रह गरेको हो।

यस्तै, राष्ट्रिय परिवर्तन पार्टी पनि दर्ता प्रक्रियामा रहेको छ। सो पार्टीका अध्यक्ष अजयकुमार हुन् र चुनाव चिन्ह ‘बाँसुरी’ प्रस्ताव गरिएको छ।

त्यस्तै, नेपाल लिबरल पार्टी नामक दल पनि दर्ता प्रक्रियामा छ, जसका अध्यक्ष गोपीलाल न्यौपाने हुन् र यसको चुनाव चिन्ह ‘सिक्का’ प्रस्ताव गरिएको छ।

यसअघि नै नेपाल नागरिक पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी, र गतिशील लोकतान्त्रिक पार्टी ले पनि दल दर्ताका लागि निवेदन दिएका थिए।

श्रम संस्कृति पार्टीका अध्यक्षमा धरानका मेयर हर्क साम्पाङ रहेका छन् भने गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दिनेश प्रसाईं हुन्।

निर्वाचन आयोगले सबै नयाँ दलको विवरण अध्ययन गर्ने कार्य जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

‘राष्ट्रिय जेनजी पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन: ‘क्रस खुकुरी’ चुनाव चिन्ह प्रस्ताव

   कार्तिक ०४, २०८२       admin

काठमाडौ,३ कार्तिक । ‘राष्ट्रिय जेनजी पार्टी नेपाल’ नामको नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको छ। दलको चुनाव चिन्ह ‘क्रस खुकुरी’ प्रस्ताव गरिएको छ।

हीराप्रसाद सेती (किरण विक) अध्यक्ष रहेको उक्त दलले प्रारम्भिक केन्द्रीय समितिमा २१ जना सदस्य रहेको उल्लेख गरेको छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको अनामनगरमा रहने बताइएको छ।

दलको नेतृत्वमा मुना विक उपाध्यक्ष, गोपाल आचार्य महासचिव तथा सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठ सचिव रहेका छन्।

पार्टीका अनुसार युवा नेतृत्व, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरण संरक्षण, यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार र गणतन्त्रलाई संगठनका आधारस्तम्भका रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तिहारले सद्भाव, सुशासन र समृद्धिको भावना अभिवृद्धि गरोस्: राष्ट्रपति पौडेल

   कार्तिक ०४, २०८२       admin

काठमाडौं,३ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

तिहार पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी र दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।

“नेपाल मौलिक संस्कृतिले भरिपूर्ण देश हो। हामीले मनाउने विभिन्न चाडपर्वहरूले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएका छन्,” राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, “यस्ता पर्वहरूमध्ये तिहार हिन्दू धर्मावलम्बीहरूको महान पर्व हो, जसले विभिन्न जात, भाषा र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने प्रयास गरेको छ।”

उनले तिहार पर्वलाई सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक महत्व बोकेको उज्यालो र प्रकाशको पर्वका रूपमा उल्लेख गरेका छन्।

राष्ट्रपति पौडेलले तिहारका माध्यमबाट प्रकट हुने विविध सांस्कृतिक अभ्यासहरूले मानवीय जीवनमा प्रकाश छरी सबैलाई सत्य, न्याय र सामाजिक सुशासनको बाटोमा अग्रसर रहन प्रेरित गरुन् भन्ने कामना पनि गरेका छन्।

तिहार पर्वलाई यमपञ्चक पनि भनिन्छ। यस पर्वमा काग, कुकुर, गाई, गोरु आदिको सम्मान र पूजा गरिन्छ भने लक्ष्मीपूजाका दिनमा भगवती लक्ष्मीको आराधना गरिन्छ। भाइटीकाका दिन दाजुभाइ र दिदीबहिनीबीच टीका लगाई, शुभकामना आदान–प्रदान गरी हर्षोल्लासका साथ पर्व मनाइन्छ।

भाइटीका, म्हपूजा र आत्मशुद्धिका चलनहरूले प्रेम, स्नेह, सामाजिक एकता, समृद्धि, धर्म, दया र करुणाका सन्देशहरू फैलाउँदै अन्धकारमाथि प्रकाशको विजयको भावना प्रकट गर्ने राष्ट्रपतिले सन्देशमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

इजरायलमा मारिएका विपिन जोशीको शव आज नेपाल आइपुग्ने

   कार्तिक ०४, २०८२       admin

काठमाडौं,३ कार्तिक । इजरायलमा मारिएका नेपाली नागरिक विपिन जोशीको शव आज दिउँसो नेपाल आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कञ्चनपुरका जोशीको पार्थिव शरीर फ्लाई दुबईको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइँदै छ।

विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरू विमानस्थलमा उपस्थित हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

हमासले जोशीलाई २०८० असोज २३ गते इजरायलको किबुत्ज आलुमिम क्षेत्रबाट अपहरण गरेको थियो। केही समयपछि उनको जीवित अवस्थाको भिडियो सार्वजनिक भएको थियो। पछि इजरायल–हमासबीच भएको युद्धविराम सम्झौताअनुसार बन्दी साटासाट गर्दा हमासले जोशीको शव इजरायली सेनालाई हस्तान्तरण गरेको हो। डीएनए परीक्षणपछि शव जोशीकै भएको पुष्टि भएपछि नेपाल ल्याउन लागिएको हो।

आइतबार इजरायलको तेल अवीवस्थित खटिभा ८ को स्मारक र बेनगुरिएन विमानस्थलमा आयोजित कार्यक्रममा उनको पार्थिव शरीरप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। जोशीको शव रहेको कफिनमा नेपाली झण्डा आढाइएको थियो।

७ अक्टोबर २०२३ : त्यो भयावह रात
त्यो दिन इजरायल–हमास युद्ध सुरु भयो। यस क्रममा किबुत्ज आलुमिमलगायतका क्षेत्रहरू आक्रमणमा परे, जसमा धेरै निर्दोष नागरिक मारिए, घाइते भए र केही अपहरणमा परे।

त्यही आक्रमणका क्रममा विपिन पनि प्रभावित बनेका थिए। उनीहरू सुरक्षित कोठातर्फ लगिँदै गर्दा आक्रमणको निशानामा परेका थिए। सो समूहमा रहेका १० नेपाली विद्यार्थी मारिए, केही घाइते भए, केहीले भागेर ज्यान जोगाए भने केहीलाई उद्धार गरियो। तर, विपिन बेपत्ता भए।

विभिन्न सञ्चारमाध्यमका अनुसार उनले आक्रमणको बेला एक ग्रिनेड समाती बाहिर फ्याँक्ने प्रयास गरेका थिए। यो साहसिक प्रयास अहिले उनको बहादुरीको प्रतीक बनेको छ। तर, त्यसपछि धेरै समयसम्म उनको अवस्थाबारे कुनै विश्वसनीय जानकारी प्राप्त हुन सकेन।

नेपाल सरकार, इजरायल सरकार, मानवअधिकार समूह र नेपाली समुदायहरूले निरन्तर खोजी गरे पनि लामो समयसम्म उनीबारे यकिन जानकारी नआएपछि परिवार निरन्तर प्रतीक्षामा थियो। अन्ततः डीएनए परीक्षणबाट पुष्टि भएपछि आज उनका पार्थिव शरीर स्वदेश फर्किँदै छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ज्येष्ठ र फरक क्षमता भएका नागरिकलाई हवाई टिकटमा ८०प्रतिशत छुट

   कार्तिक ०३, २०८२       admin

काठमाडौं,२ कार्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक र फरक क्षमता भएका नागरिकलाई हवाई टिकटमा छुट दिने निर्णय गरेको छ।

आइतबार प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकमा आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरूसँग भाडा छुटबारे सहमति भएको हो।

निर्णय अनुसार ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई टिकटमा अधिकतम भाडाको ५० प्रतिशत, ७५ वर्षभन्दा माथिलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिलाई ८० प्रतिशत छुट दिइनेछ।

त्यस्तै, फरक क्षमता भएका हवाई यात्रुहरूलाई पनि न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित हुने व्यवस्था गरिएको छ। उक्त निर्णय आइतबारदेखि लागू गरिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

फ्रान्सका पूर्व राष्ट्रपति निकोलसलाई जेल सजाय

   कार्तिक ०३, २०८२       admin

काठमाडौँ २ कार्तिक । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई जेल पठाइने भएको छ । सार्कोजीलाई सन् २००७ को राष्ट्रपतीय चुनावका लागि लिबियाबाट अवैध रूपमा आर्थिक सहयोग लिएको आरोपमा दोषी ठहर गरिएको छ। योसँगै उनी युरोपेली संघको इतिहासमा जेल सजाय पाउने पहिलो पूर्व राष्ट्रप्रमुख बन्ने भएका छन्।


सार्कोजीलाई पेरिसस्थित ला सान्ते कारागारमा राखिनेछ। उनलाई एकान्त कक्षमा राखिने भएको छ, जसले अन्य कैदीहरूसँग प्रत्यक्ष सम्पर्क सीमित गर्नेछ। जेल प्रशासनका अनुसार उनी दिनको एकपटक मात्र बाहिरी प्रांगणमा एक्लै हिँड्न पाउनेछन्।

अदालतको निर्णय र अपिल प्रक्रिया
सार्कोजीले अदालतको फैसला ‘अन्यायपूर्ण’ भन्दै अस्वीकार गरेका छन् र अपिल दायर गरिसकेका छन्। तर अदालतले अपराधलाई ‘असाधारण रूपमा गम्भीर’ ठहर गर्दै अपिल प्रक्रियाको बीचमै उनलाई कारावास पठाउने निर्णय लिएको हो। उनका वकिलहरूले जेल प्रवेशपछि तत्काल रिहाइको माग गर्ने जनाएका छन्।

विगतका कानुनी मुद्दा
यसअघि पनि सार्कोजी कानुनी विवादमा परेका थिए। उनले एक मुद्दामा न्यायाधीशबाट व्यक्तिगत लाभ लिन खोजेको आरोपमा इलेक्ट्रोनिक निगरानीसहितको सजाय भोगेका थिए।
हालको मुद्दामा भने उनीमाथि सन् २००५ मा लिबियाली नेतासँग अवैध आर्थिक लेनदेनको षड्यन्त्रमा संलग्न भएको आरोप थियो। तर अदालतले प्रत्यक्ष रूपमा चुनावी चन्दा लिएको प्रमाण नपाएपछि त्यसमा सफाइ दिएको छ।

जनप्रतिक्रिया र पारिवारिक समर्थन
फ्रान्समा हालै गरिएको सर्वेक्षणअनुसार ६० प्रतिशत नागरिकले अदालतको निर्णयलाई उचित बताएका छन्। यद्यपि, सार्कोजी अझै पनि दक्षिणपन्थी समर्थकबीच लोकप्रिय व्यक्तित्वका रूपमा रहेका छन्।
उनका छोरा लुइस सार्कोजीले सामाजिक सञ्जालमार्फत मंगलबार बिहान आफ्ना पिताको समर्थनमा घरअगाडि उपस्थित हुन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology